
काठमाण्डु, ३१ वैशाख – प्रहरीले काठमाण्डुका विभिन्न स्थानबाट जुवा खेलिरहेका २३ जनालाई नियन्त्रणमा लिएको छ ।उनीहरुको साथबाट नगद १ लाख ८१ हजार ३५ रूपैयाँ र १० बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग गोगंबुले जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको मित्रनगरबाट सुनसरी उपमहानगरपालिका–२३ घर भएका वर्ष ३४ को हरि लिम्बुले सञ्चालन गरेको हार्मोनियम गेष्ट हाउसबाट गेष्ट हाउस सञ्चालक हरि लिम्बु सहित ६ जना पुरुष र ३ जना महिला गरी ९ जनालाई पक्राउ गरेको छ ।
उनीहरूको साथबाट नगद रु ७१ हजार ५ सय ५५ रूपैयाँ र ४ बुक तास बरामद गरेको छ ।
यता, महानगरीय प्रहरी वृत स्वयम्भूले जुवातास खेलिरहेको अवस्थामा ८५ हजार ६ सय रूपैयाँ सहित ८ जनालाई पक्राउ गरेको छ । नागर्जुन नगरपालिका–२ गैरीगाँउमा सिंह बहादुर तामाङले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर सञ्चालक सिंह बहादुर तामाङ सहित ८ जना पक्राउ परेका हुन् ।
यसैगरी महानगरीय प्रहरी वृत बालाजुले जुवातास खेलिरहेको अवस्थामा २३ हजार ८ सय ८० रूपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । बालाजु बसन्तनगरमा लमजुङ घर भएका वर्ष ५७ की देउ कुमारी गुरुङले सञ्चालन गरेको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा खाजा घर सञ्चालक देउ कुमारी गुरुङसहित ६ जनालाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको जनाएको छ ।