गहुँ र धानको फरक छुट्याउन नसक्ने कांग्रेसबाट अर्थमन्त्री भए: प्रदीप गिरि

काठमाण्डु टुडे २०७६ वैशाख ३१ गते १३:१४ मा प्रकाशित

सल्यान, ३१ वैशाख – नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले नेपाली समाज नबुझ्ने अर्थमन्त्री भएकाले विकास हुन नसकेको बताएका छन् । संघीय संसद प्रतिनिधिसभामा जारी आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा मंगलबार भाग लिँदै सांसद गिरिले नेपालको बारेमा ज्ञान नभएका व्यक्तिहरू अर्थमन्त्री भएका कारण विकास हुन नसकेको बताएका हुन् ।

विगतमा कांग्रेसबाट प्रधानमन्त्री भएका व्यक्तिहरूका पालादेखि नै विदेशमा अध्ययन गरेर आएका व्यक्तिहरूलाई अर्थमन्त्री बनाउनुका कारण मुलुकको विकास हुन नसकेको धारणा राखेका थिए । उनले भने, ‘अर्थमन्त्रीको पद विशेषज्ञताको पद होइन । लामो समययता, कांग्रेसको समयमा पनि बाहिरबाट पढेर आएका पिएचडी गरेका गहुँ र धानको फरक थाहा नपाउने, प्याज र आलुलाई पानी चाहिन्छ कि चाहिँदैन भन्ने थाहा नपाउने अर्थमन्त्री बनाइए ।’

‘वृद्धि दरको धारणाको मोह छोड्नुस्, यदि तपाई सामाजिक न्याय कायम गर्न चाहनुहुन्छ भने । वृद्धिदर अलग शब्द हो । विकास अलग शब्द हो । सँगसँगै आम जनताको उन्नति अलग शब्द हुन्,’ उनले भने, ‘सिद्धान्तका हिसाबले कुरा गर्दा तपाईले संकेत गर्नुभएको दिगो अर्थव्यवस्थाको सिलसिलामा वृद्धि दरको मोह र माया छोडेर वैकल्पिक उर्जामा तपाई कति खर्च गर्ने वाला हुनुहुन्छ त्यो बताउनुहोस् मलाई ।’

वीपी कोइराला प्रारम्भमा अलमलिए पनि पछि विकासको मोडल नेपालका लागि उपयुक्त नभएको भनी अस्वीकार गरेको प्रसंग उल्लेख गर्दै उनले त्यसपछिका सरकारले पनि अमेरिका वा जर्मनीबाट पिएचडि गरेकाहरु नै अर्थमन्त्रीको रुपमा चयन गर्ने गरेकाले मुलुकको विकास सही ढंगले अघि बढ्न नसकेको जिकिर गरे ।

गिरिले भने, ‘तथाकथित आधुनिककरणको, तथाकथित विकासिकरणको, तथाकथित वृद्धि दरको अंग्रेजीमा प्रवेश गर्यौं । जेसुकै भन्नुहोस्– सिद्धान्त र प्राथमिकतालाई हामीले विपरित दिशामा लैजानु परेको छ । वर्तमान दिशामा प्रश्न चिन्ह खडा गर्नुपरेको छ ।’

उनले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी संसदमा दर्ता गरेको विधेयकको विरोध गर्दै तत्कालिन सोभियत संघमा नागरिक अधिकार नभएकै कारण मुलुक र रुसी कम्युनिस्ट पार्टी अहिलेको अवस्थामा पुगेको स्मरण गराए ।

‘त्यहाँ मानवअधकिार थिएन, लेख्ने–बोल्ने आजादी नभएपछि सत्ता वर्गलाई जनमत के छ भन्ने थाहा नहुँदो रहेछ । जनमत थाहा नभएपछि ती जनमत एक पटक सडकमा उत्रिनासाथ भीमकाय हतियारहरु, ट्यांकहरु समाप्त भए,’ कांग्रेस सांसद गिरिले भने, ‘रुसमा नागरिक अधिकार भएको भए रुसी कम्युनिस्ट पार्टीको यो दूर्दर्शा हुने थिएन भन्ने कुरा सबैले स्वीकार गरेका छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us