
काठमाण्डु, २७ वैशाख – कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले सार्वजनिक रुपमै अर्थमन्त्री डा.युवराज खतिवडाले लिएको नीतिको आलोचना गरेका छन् ।
होटल संघ नेपालको ४६औं वार्षिक साधारणसभा उद्घाटन गर्दै उनले घुमाउरो रुपमा खतिवडाले अपनाएको नीतिले लगानी भित्र्याउनै कठिन भएको जिकिर गरेका छन् ।
‘अहिले विदेशबाट आउने व्यक्ति धमाधम विमानस्थलमा पक्राउ पर्न थालेका छन्। एक जना व्यक्ति सुन धेरै लगाउने रहेछन् । उनी विदेशबाट आउँदा सुन लगाएकै आधारमा पक्राउ परे। हामीले पचास ग्रामभन्दा बढी सुन ल्याउन नपाउने प्रावधान बनाएका छौं,’ पोखरेलले भने, ‘अब त्यसले उनको सामाजिक प्रतिष्ठालाई समेत आघात गर्यो ।’
पोखरेलले नेपाली मात्रै नभएर विदेशी लगानीकर्तासमेत सुन तस्करको रुपमा पक्राउ परेको उदाहरण दिए ।
‘दक्षिण भारतका एक जना व्यवसायी लगानीको अध्ययन गर्न नेपाल आएका रहेछन् । दक्षिण भारतमा सुन धेरै लगाउने चलन हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेवित्तिकै सुन ल्याएको भन्दै हिरासतमा राखियो । नेपालमा सद्भभाव राखेर लगानी गर्न आएका उनी तीन दिन हिरासतमा बसेर त्यहीबाट आफ्नो देश फर्किए’ पोखरेलले भने, ‘यस्तो अवस्थामा लगानी आउने वातावरण बन्दैन ।’
उनले सामाजिक र सांस्कृतिक अवस्था हेरेर नीति बनाउनुपर्ने बताउँदै अब कुनैपनि नीति बन्दा लगानीको वातावरण नबिग्रने गरी बनाउने दाबी गरे ।