
अमेरिका, २७ वैशाख – अमेरिकाले उत्तर कोरियाली मालबाहक कार्गो जहाज नियन्त्रणमा लिएको छ । अन्तर्राष्ट्रिय प्रतिबन्ध उल्लंघन गरेको आरोपमा अमेरिकाले जहाज नियन्त्रणमा लिएकोे बीबीसीले उल्लेख छ ।
संयुक्त राष्ट्र संघले उत्तरलाई कोइला निर्यातमा प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धका बाबजुद सो जहाज कोइला निर्यातमा प्रयोग गरिएको पाइएको अमेरिकी न्याय विभागलाई उद्यृत गर्दै बीबीसीले उल्लेख गरेको छ । सन् २०१८ मा त्यही जहाज इन्डोनेसियामा नियन्त्रणमा लिइएको थियो । उत्तर कोरियासंग पछिल्लो समय बिग्रदो सम्बन्धका बीच पहिलो पटक अमेरिकाले उत्तर कोरियाली जहाज नियन्त्रणमा लिएको हो ।
गत फेब्रुअरीमा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको परमाणु निशस्त्रीकरण सम्बन्धि शिखर वार्ता सहमति विना नै टुंगिएको थियो । परमाणु कार्यक्रम सम्बन्धि विषयमाथि छलफल गर्न अमेरिकी प्रतिनिधि दक्षिण कोरियामा रहेका बेला अमेरिकाको यो कदमले उत्तरसंगको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ ।