
एजेन्सी – मानिसका गतिविधिका कारण इतिहासकै सबैभन्दा बढी अर्थात् १० लाखभन्दा बढी जीवजन्तु, रुखबिरुवा संकटमा परेका छन् ।
जैविक विविधतासम्बन्धी हालै सार्वजनिक संयुक्त राष्ट्रसंघीय प्रतिवेदनका अनुसार यसअघि कहिल्यै नसोचिएको गतिमा सर्वत्र प्रकृतिमा ह्रास आइरहेको छ । मानिसका लागि चाहिने खाद्यान्न तथा ऊर्जाको माग त्यसका लागि प्रमुख जिम्मेवार छन् ।
‘हामीले नाटकीय रूपमा ग्रहमा जीवनको पुनर्निर्माण गरेका छौं’, अमेरिकाको इन्डियाना विश्वविद्यालयका एडुआर्डो ब्रोन्डिजियो भन्छन्, ‘प्रजातिहरूको संकट विगतमा भन्दा दसौं वा सयौं गुणासम्म बढेको छ । पृथ्वीमा रहेका ५ लाखभन्दा बढी प्रजातिहरूले आफ्नो जीविकाका लागि बासस्थान बनाउन पर्याप्त जमिन पाएका छैनन् ।’
यो जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय पहिलो विस्तृत प्रतिवेदन हो । प्रतिवेदनले तत्काल कदम चालेको खण्डमा संकटमा परेका त्यस्ता प्रजातिहरुको संरक्षण गर्न सकिने औंल्याएको छ ।
‘मानिसले अञ्जानमै पृथ्वी र आफ्नो भविष्यको नै घाँटी थिचिरहेका छन्’, अमेरिकाको जर्ज मेसन विश्वविद्यालयका जीवविज्ञ थोमस लभजोयले भन्छन्, ‘पृथ्वीको जैविक विविधता क्रमशः विनाश भइरहेको छ । यसलाई जोगाउन अब हामीसँग थोरै विकल्प बाँकी छन् ।’
एक हजार पृष्ठभन्दा लामो प्रतिवेदन सार्वजनिक गर्न विश्वका संरक्षण वैज्ञानिकहरू पेरिसमा भेला भएका थिए । इन्टर गभर्नमेन्टल साइन्स पोलिसी प्ल्याटर्फम अन बायोडाइभर्सिटी एन्ड इकोसिस्टक सर्भिसेज (आईपीबीईएस) का लागि ४ सय ५० अनुसन्धानका आधारमा प्रतिवेदन तयार पारिएको हो । प्रतिवेदनमा नेपाली वैज्ञानिकहरूको समेत योगदान रहेको छ । अब यसलाइ १०९ देशका प्रतिनिधिले पारित गर्नेछन् ।
सन् १९७० को तुलनामा संसारको जनसंख्या हाल दोब्बर भएको छ । विश्व अर्थतन्त्र ४ गुणा बढेको छ। त्यसैगरी अन्तर्राष्ट्रिय व्यापार १० गुणाले बढेको छ । हाल विश्वमा रहेका मानिसका लागि खाद्यान्न, लत्ताकपडा र उर्जाको व्यवस्था गर्न जंगल तीव्र रूपमा फँडानी गरिएको छ । सन् १९८० र २००० बीचमादक्षिण अमेरिका र दक्षिण९पूर्वी एसियामा १० करोड हेक्टर जंगल फाँडिएको छ । एपी