काठमाण्डु, २४ वैशाख – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न लागिपर्नुपर्ने बताएका छन् ।
सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न नसक्ने बताएका हुन् ।
‘तथाकथित सम्भव कुरा मात्र गर्ने भन्ने नाममा, सुधारात्मक कुरा मात्र गर्यौं भने नेपाल समृद्ध बन्दैन,’ प्रचण्डले भने, ‘हामीले ठूला आकांक्षाहरू राख्नुपर्छ र त्यसलाई पूरा गर्न त्यसका लागि राजनीतिक शक्ति परिचालन गरेर अगाडि बढ्नुपर्छ ।’
नेपालमा विकास हुने कुरा असम्भव जस्तै सोच्ने गरेको इतिहास नेपालीको रहेको बताउँदै प्रचण्डले अब सबैले सपना देख्नुपर्ने बताए । ‘यस्तो पनि होला र भनेर सोच्ने हाम्रो विगत छ, अहिले यथार्थ बन्दै छ,’ प्रचण्डले भने, ‘रेल आउला त ? अन्तर्राष्ट्रिय विमानस्थल बन्ला त ? भन्ने कताकता काल्पनिक कुरा, असम्भव कुरा, जनतालाई सपना मात्र देखाएको हो कि भन्ने लाग्ला ? यस्तै सपना देख्न पनि थाल्नुपर्छ र त्यसको साकार पार्नुपर्छ भन्ने म ठान्दछु ।’