
काठमाण्डु, २४ वैशाख – समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको पहिलो बैठक आज बस्दैछ ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण भएर बनेको समाजवादी पार्टीले एकीकरण घोषणाको एक दिनपछि नै आज बैठक बोलाएको हो । दुई पार्टीमा कायम केन्द्रीय सदस्य स्वतः नयाँ पार्टीको समेत सदस्य भएपछि समाजवादी पार्टीको केन्द्रीय समिति ३ सय भन्दा बढी सदस्यको बनेको छ ।
काठमाण्डुको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा दिउँसो एक बजेपछि बस्ने बैठकमा पार्टीको भावी रणनीति, संगठन, जिम्मेवारी लगायतबिषयमा छलफल सुरु हुनेछ । बरिष्ठ नेता अशोक राईले सहमति हुन बांकी पार्टीको झण्डा र चुनाव चिह्नका बिषयमा आजको बैठकमा छलफल हुने जानकारी दिए ।
झण्डा तात्कालिन फोरम नेपालको र चुनाव चिह्न नयाँ शक्तिको राख्ने बिषयमा अनौपचारिक छलफल भएपनि यसलाई लेनदेनको बिषयमा भने नबनाउने राईको भनाई छ । आजको बैठकमा सरकारमा सहभागीताको बिषयबारे समेत कुराकानी हुनेछ । एकीकरण पूर्वको फोरम नेपाल तत्कालिन अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी छ ।
यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् भने नवगठित पार्टीका सचिव मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री छन् ।
मधेश केन्द्रित राष्ट्रिय जनता पार्टीले एकीकरणको आह्वान गर्दै फोरम नेपाललाई औपचारिक पत्र पठाएपनि सरकारमा सहभागीताको बिषयलाई लिएर प्रक्रिया बीचमै रोकिएको थियो ।
राजपा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर बसेको छ । तत्कालिन फोरम नेपाल सत्ता नेतृत्वकर्ता दल नेकपास“ग २ बुँदे सहमति गर्दै सरकारमा सहभागी भएपनि माग सम्बोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली अग्रसर नभएको भन्दै रुष्ट थियो ।