सडेको अवस्थामा दुई पुरुषको शव भेटियाे

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १०:२४ मा प्रकाशित

बलेवा, २४ बैशाख – बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए । घर्ती चार महिनाअघिदेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमबार मात्रै उनको शव जङ्गलमा फेला परेको हो । उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदीकिनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us