अपहरणपछि दुई वर्षीय बालकको घाँटी रेटेर हत्या

काठमाण्डु टुडे २०७६ वैशाख २४ गते १०:०६ मा प्रकाशित

काठमाण्डु, २४ वैशाख – धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए ।

बेपत्ता आर्यनको शव मंगलबार बिहान घर नजिकै बारीमा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।

आधा घाँटी काटेको अवस्थामा शव फेला परको राईले बताए । ‘हामी अहिले मुचुल्का उठाउने काम गर्दैछौँ,’ प्रहरी निरीक्षक राईले भने, ‘घटनाको पूरा अनुसन्धान गरेपछि मात्रै थप भन्न सकिने अवस्था छ ।’

आर्यन सोमबार साँझ हरियो रङको टिसर्ट लगाएर घरमै खेलिरहेका थिए । उनी खेल्न थालेपछि अभिभावक बालकलाई घरमै छाडेर घर नजिकैको धारामा पानी लिन गएका थिए ।

त्यहीबीचमा आर्यन बेपत्ता भएका थिए। बालक हराएपछि छिमेकी र गाउँले मिलेर खोजी शुरु गरेका थिए । बालक नभेटिएपछि अभिभावकले बालक हराएको जानकारी इलाका प्रहरी कार्यालय ढल्केवरलाई गराएका थिए ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राईसहित गाउँलेले बालकको खोजी सोमबार रातिबाटै गरेका थिए । तर, बालक फेला परेका थिएनन् । खेतबारीतिर जान सक्ने भन्दै त्यसतर्फ पनि खोजी गरिएको थियो। तर राती खोज्दा बालक फेला परेका थिएनन् ।

तर, मंगबार बिहान राति नै खोजिएकै ठाउँ घर नजिकैको खेतमा उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक राईले बताए ।

बालकको घाँटी रेटेर निर्ममतापूर्वक हत्या भएको पाइएपछि अपहरण गरेर हत्या गरिएको अनुमान प्रहरीले गरेको छ । अपहरणपश्चात हत्या किन र कसले ग¥यो भन्ने केही खुल्न सकेको छैन । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us