
काठमाण्डु, २४ वैशाख– केन्द्रीय कारागारको गोलघरमा रहेका गुण्डा नाइके ‘रमेश बाहुन’ भन्ने सुजन पौडेल र प्रहरी नायव उपरीक्षक (डीएसपी) कुमोद ढुङ्गेलबीच पटकपटक फोन संवाद भएको घटना सार्वजनिक भएपछि गोलघरको सुरक्षा व्यवस्थामाथि नै प्रश्न उठेको छ ।
संगठित अपराध (गुण्डागर्दी) मुद्दामा २०७१ सालमा पक्राउ परेका बाहुनका गतिविधि शंकास्पद देखिएपछि गोलघरमा राखिएको थियो । सुरक्षाका दृष्टिकोणले संवेदनशील गोलघरका कैदीले हप्तामा एक दिन तीनजनासँग फोन सम्पर्क गर्ने सुविधा हुन्छ । ‘कल डिटेल’ र ‘भ्वाइस रेकर्ड’ हुने ल्याण्डलाइनको टेलिफोन सेटबाट आफन्तलाई फोन गर्नुपर्ने हुन्छ ।
टेलिफोन संवाद तथा अन्य गतिविधिमाथि सीसी क्यामेराका साथै प्रत्यक्ष रूपमा कारागार कर्मचारी र प्रहरीले सुक्ष्म निगरानी राख्ने गर्छन् । सुन्धारास्थित केन्द्रीय कारागारको गोलघरका कैदी बाहुन र डीएसपी कुमोदबीचको बाक्लो फोन संवादमा भने सुरक्षा सतर्कता अपनाएको देखिँदैन । महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले अपराधीका लागि कारागार पनि सुरक्षित गृह बन्दै गएको जस्तो देखिएको बताए ।
गृह मन्त्रालयले डीएसपी ढुङ्गेललाई शुक्रबार निलम्वन गरेको छ । गत चैत २६ गते रानीवारीमा भएको डकैती घटनामा संलग्न अभियुक्त नैकापका विक्रम श्रेष्ठसँग पनि डीएसपी ढुङ्गेलको बारम्बार फोन सम्पर्क भएको देखिएपछि निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । पोखरामा घर किन्न जम्मा राखेको तीनकरोड रुपैयाँ लुट्ने योजनाअनुरुप हतियार देखाइ रानीवारीस्थित एक व्यापारीको घरभित्र जर्बजस्ती प्रवेश गरेको अभियोगमा प्रहरीले नैकापका विक्रमसहित चन्द्रागिरिका ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढीका २८ वर्षीय ‘दीपेश’ भन्ने सन्तबहादुर तामाङलाई पक्राउ गरेको थियो ।
उनीहरूको पक्राउसँगै थप अनुसन्धान गर्दा अभियुक्त विक्रम, गोलघरका बाहुन र डीएसपी कुमोदबीच त्रिकोणात्मक सम्वन्ध देखिएको छ । गोरखापत्रबाट