काफल बेच्दै वर्ष दिनको पढाई खर्चको जोहो गर्दै स्कुले बालबालिका

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १७:४६ मा प्रकाशित

डोटी, २१ बैशाख – पछिल्लो समय जिल्लामा रहेका अधिकांश स्कुले बालबालिकाको आम्दानीको स्रोत काफल बनेको छ । वैशाख महीनाको शुरुआतसँगै जिल्ला सदरमुकाम क्षेत्रमा काफलको व्यापार बढेको छ । काफल पाक्न शुरु भएसँगै यहाँको अत्तरिया र स्याउले जोड्ने भीमदत्त राजमार्ग अन्तर्गतका विभिन्न क्षेत्रमा काफलको व्यापार बढ्न थालेको हो ।

यहाँका गैरा, बुडर सहजपुर, चौरानब्बे, रुपसकाँडा, गोगनपानीलगायत बजार क्षेत्रमा वृद्ध महिलादेखि स्कुले बालबालिका डालोमा काफल राखेर गिलासले नाप्दै प्रति गिलास रु १० देखि रु २० सम्ममा बिक्री गरिरहेका भेटिन्छन् ।

यहाँका बालबालिका काफल हुने याममा वर्षैपिच्छे काफल सङ्कलन गरी बिक्री गर्दै आफ्नो स्कुलको पढाइखर्च जुटाउने गरेको गोगनपानीकी पवित्रा खत्री दाहालले बताइन् ।

उनले भनिन्, ‘केटाकेटीको स्कुल बिहान लाग्ने गरेकाले उनीहरू बिहान स्कुल जान्छन् र दिउँसोे जङ्गलमा गएर काफल टिपी ल्याउँछन् र साँझसम्म बेचेर स्कुलको खर्च तथा घर खर्च जुटाउन थालेका छन् ।’

यहाँका राजमार्गमा दिनहुँ सयौँ गाडी ओहरदोहर गर्ने भएको र त्यत्तिकै मात्रामा यात्रु पनि आवतजावत गर्ने भएकाले बालबालिकाले सङ्कलन गरेका काफल बिक्रीमा समस्या नहुने गरेको स्थानीयवासी बताउँछन् ।

यहाँका राजमार्ग क्षेत्रमा काफल बेच्ने बिक्रेताले राम्रो आम्दानी गर्न थालेको जोरायल गाउँपालिका–२ स्थित रूपसकाँडाका भरत कुँवरले बताए । काफलबाट राम्रै आम्दानी हुन थालेपछि यहाँका अधिकांश बालबालिका अहिले काफल व्यवसायमा लागेका अर्का स्थानीयबासी ज्ञानु मल्लले बताइन् ।

उनले भनिन्, ‘आम्दानी पनि हुने घरको खर्चपनि चल्ने भएकाले बालबालिका काफल व्यवसायमा आर्कषित भएका हुन् ।’ काफल पाक्ने समयमा डोटीमा ठूलो मात्रामा असिना परेकाले जङ्गलमा योवर्ष खासै काफल नभएको स्थानीयवासी बताउँछन् ।

असिनाले वैशाखमा पाक्ने काफलमा ठूलो क्षति प¥याएका कारण काफल खोज्न अलि टाढाको जङ्गल जानुपर्ने र काफल टिप्न दिनभरी नै लाग्ने गरेको सहजपुरमा काफल बेच्दै आएकी मीना साप्कोटाले बताइन् ।

उनले भनिन्, ‘पहिलेको जस्तो काफल योवर्ष छैन सबै असिनाले झारिसक्यो, टाढा–टाढा जानुपर्छ दिनभरीमा काफल टिपेर फर्किदा अबेर हुनेभएकाले अर्को दिन बेच्नुपर्ने हुन्छ ।’ यहाँका स्कुले केटाकेटीले शुक्रबार र शनिबार दिनभरीमा काफल टिपेर बिक्री गर्ने गरेका छन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us