ठमेलबाट २० बालबालिकाको उद्धार

काठमाण्डु टुडे २०७६ वैशाख २१ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २१ बैशाख – महानगरीय प्रहरी परिसर काठमाण्डुको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत प्रहरीले ठमेल क्षेत्रबाट २० जना बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो ।

अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भने, ‘ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौँ ।’

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us