भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने चेतावनी, नेपालमा के हुन्छ ?

काठमाण्डु टुडे २०७६ वैशाख १८ गते ११:३२ मा प्रकाशित

काठमाण्डु, १८ वैशाख – भारतमा ‘फेनी’ नामको शक्तिशाली आँधी आउने भारतीय मौसम विभागले चेतावनी दिएको छ ।

विभागले भारतका तमिलनाडु, पुडुचेरी, आन्ध्र प्रदेशका तटीय क्षेत्र लगायतका स्थानमा तीव्र वेगको आँधी आउनसक्ने भन्दै भन्दै मे ३ अर्थात् यही वैशाख २० गतेसम्म सतर्क रहन चेतावनी दिएको हो ।

बंगालको खाडीबाट उठेको उक्त चक्रवातले प्रतिघण्टा १५५ देखि १७५ किलोमिटरसम्म वेगमा आँधी आउने, भारी वर्षा हुने र समुद्री लहर उठ्ने भारतीय मौसमविदले चेतावनी दिएका छन् ।

त्यसको प्रभाव नेपालमा पनि पर्छ कि भनेर यतिबेला चिन्ता र चासो भइरहेको हो।

तर जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले यसबाट हामीले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

मौसमविद् विभूति पोखरेलले भारतको फेनी नामको आँधी समुद्रमा आउने भएकाले नेपालमा त्यसको सम्भावना नरहेको बताइन् । ‘त्यो आँधी समुद्रमा आउने भएकाले नेपालमा आउने सम्भावना देखिँदैन,’ उनले भनिन्, ‘त्यही भएर डराउनुपर्ने अवस्था छैन ।’

तर शुक्रबार बेलुका उक्त आँधीको थोरै असर नेपालका पूर्वी र मध्य क्षेत्रमा देखिने सम्भावना रहेको उनको भनाइ छ । सामान्य वर्षा र हावाहुरी आउनसक्ने भए पनि अहिलेसम्मको अध्ययन अनुसार डराउनुपर्ने अवस्था नरहेको उनले बताइन् ।

अर्का मौसमविद वरुण पौडेलले भने, ‘हामीले फेनी कतातिर जान्छ भनेर डिरेक्सन (बाटो) पछ्याइरहेका छौं ।’

उनले उक्त आँधी कुन बाटो भएर आउँदै छ भनेर अध्ययन भइरहेको बताए । उनले पनि अहिलेसम्मको अध्ययनले फेनी आँधीको सम्भावना नेपालमा नदेखिएको बताए ।

गत चैत २७ गते यसअघि कहिल्यै नआउको ‘टोर्नाडो’ आँधीका कारण २८ जनाको ज्यान गएपछि नेपालमा त्रास फैलिएको छ ।

यस्ताे छ तीन दिनकाे माैसमी विवरणः

बैशाख १८  गते (बुधबार):
दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही  पश्चिमी भूभागका  साथै पुर्बी र मध्य  पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित वर्षाको संभावना रहेको छ |
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही  पश्चिमी भूभागका  साथै पुर्बी र मध्य  पहाडी भेगका केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित वर्षाको संभावना रहेको छ |
बैशाख १९ गते (विहीबार):
दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही  केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित वर्षाको संभावना रहेको छ |
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित वर्षाको संभावना रहेको छ |
बैशाख २० गते (शुक्रबार):
दिउँसोः देशै भरि आंसिक देखि सामान्य बदलि रही  केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ |
राति: देशै भरि आंसिक देखि सामान्य बदलि रही केहि  स्थानहरुमा मेघ गर्जन, हावाहुरी  सहित हल्का देखि मध्यम  वर्षाको संभावना रहेको छ |

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us