प्रचण्डको खुलासाः प्रदेश २ मा नेकपाको सरकार बन्छ !

काठमाण्डु टुडे २०७६ वैशाख १७ गते ११:२८ मा प्रकाशित

काठमाण्डु, १७ वैशाख – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान गतिशील दस्तावेज भएको बताएका छन् । प्रदेश नम्बर २ मा मधेस तराई फोरमका नेता तथा कार्यकर्तालाई मंगलबार निवास खुमलटारमा पार्टीमा स्वागत गर्दै यस्तो बताएका हुन् ।

उनले भने, ‘संविधान जनताको माग अनुसार आवश्यकता अनुसार संविधानमा परिमार्जन, विकास र संशोधन हुन्छ ।’

अध्यक्ष प्रचण्डले जनतालाई बढि भन्दा बढि अधिकार दिनका लागि आफूले संविधान संशोधन गराउन प्रयत्न गरेको बताए । उनले संविधानलाई जीवन्त दस्तावेजको संज्ञा पनि दिए ।

उनले संविधान संशोधनका लागी प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी ओलीसंग छलफल गरेर प्रक्रिया सुरु गर्ने धारणा राखे । सबैैतिरको जनताले विकासको अनुभूति गरुन् भन्न चाहना आफूहरुको रहेको भन्दै तयार मधेश क्षेत्रमा विशेष कार्यक्रम ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हुलाकी राजमार्ग निर्माणलाई सरकारले प्राथमिकतामा राखिएको छ, तराई मधेशलाई राजधानीसंग जोड्ने फाष्ट ट्र्याकको काम पनि अघि बढेको छ ।’

फोरम–राजपाको गठबन्धन सरकारले तराई मधेसको हितमा काम गर्न नसकेको भन्दै उनले नेकपाको नेतृत्वमा सरकार बन्न सक्ने बताए । उनले मधेसमा सरकार मधेसी जनताको हित अनुकुल नचलेको बताए ।

‘मधेसमा अहिले सरकार जसरी चलेको छ, ठीक चलेको छैन, त्यो मधेसी जनताको हित अनुकुल चलेको छैन,’ उनले भने, ‘तराई मधेसमा पनि कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार बन्नुमात्रै त्यहाँको जनताको हितमा हुनसक्छ ।’

उनले भने, ‘यहाँसम्म आइपुग्दा झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी देखियो । अहिले त योजना निर्माणमा व्यक्ति–व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हुने हो भने बिचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

नेकपाले चाहेमा अहिले नै प्रदेश २ मा नेकपाको सरकार बन्न सक्ने उनले बताए । ‘हामीले चाहने हो भने, त्यहाँ बिभिन्न खालको चलखेल गर्ने हो भने अहिले पनि सरकार बन्न सक्छ’ प्रचण्डले भने, ‘तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’

प्रदेश दुईमा रहेर राजनीति गरिरहेका मधेस तराई पार्टीका अध्यक्ष अमर यादवले पार्टीमा प्रवेश गर्दै संयुक्त जनआन्दोलन, जनयुद्ध, मधेस आन्दोलन एवम् आदिवासी, जनजाति लगायत अधिकार प्राप्तिका लागि संघर्षरत सबै पक्षको योगदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई आत्मसात गर्ने बताए ।

कार्यक्रममा मधेस तराईको सिंगो पार्टी नेकपामा समाहित भएको थियो । नवप्रवेशीलाई अध्यक्ष प्रचण्डले माला र खादा लगाई पार्टीमा स्वागत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us