
ललितपुर, १७ वैशाख – ललितपुरको बाग्मती गाउँपालिका–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तीनपानेबाट भट्टेडाँडातर्फ जाँदै गरेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा तीन किशोर–किशोरीको ज्यान गएको हो ।
दुर्घटनामा महोत्तरी बर्दिबासका १९ वर्षीय विशाल थापामगर, ललितपुर तीनपानेकी १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तानको ज्यान गएको छ ।
सोमबार राती पौने १० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा मकवानपुरका रमेश तामाङ घाइते भएका छन् । उनको ललितपुरको आनन्द वन अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।