
काठमाण्डु, १६ बैशाख – प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले मेलमिलाप मार्फत् विवादको समाधान गरेपछि मात्र शान्तिपूर्ण समाजको निर्माण हुने बताएका छन् । अदालतमा मुद्दा नआउँदै मेलमिलापको विषयमा आम नागरिकलाई सचेत गराउन सके जनताको न्यायमा पुहँचको अवस्था बढ्ने राणाले बताए ।
मेलमिलाप कर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै सोमबार मेलमिलाप पद्धतिको विकास भए चाँडो र कम खर्चमा न्याय हुने राणाले बताएका हुन् । मेलमिलाप पद्धतिबाट विवाद समाधान गर्दाका फाईदा वा महत्वका बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको राणाले बताए ।
आफ्नो विवादको निर्णयकर्ता आफैँ हुन पाउने र मेलमिलापकर्ताको सहयोगबाट विवाद समाधान हुने भएकाले स्वामित्व बोधसमेत गराउने भनाई उनको थियो। मेलमिलापले न्याय प्रणालीमा बलियो स्थान बनाउने विश्वास पनि व्यक्त गरे ।