
काठमाण्डु, १४ वैशाख – महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
काठमाण्डु महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो । टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काएको हो ।
काठमाण्डु टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोजकुमार भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए ।
पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर ठेकादार कम्पनीको नै अगुवाइमा उक्त सटरहरु निर्माण भएको थियो । एक सटरको१५ हजारदेखि २५ हजारसम्म उनीहरुले भाडामा लगाएका थिए ।
खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेपछि केही दिनअघि नयाँशक्ति पार्टी, कांग्रेस र स्थानीयको अगुवाइमा विरोध प्रदर्शन भएको थियो । उनीहरुले वैशाखभित्र ती संरचना नहटाए आफ्नै पैसामा डोजर ल्याएर भए पनि हटाउने चेतावनी दिएका थिए ।
पछिल्लाे समय खुल्लामञ्च अतिक्रमण भएकाे भन्दै विराेध भइरहेकाे छ । महानगरले डोजर लगाएपछि व्यापारीको भागाभाग भएको छ ।
त्यस्तै नेकपा नेता भिम रावलले पनि खुलामञ्च अतिक्रमण भएकाे भन्दै विरोध गरेका छन् । उनले खुलामञ्च बेच्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘खुला मञ्चमा ब्यापारिक पसल ! बेथिति, कुत्सित स्वार्थको पराकाष्टा । कानूनी शासन र सामाजिक हित र मर्यादाको उपहास ! खुलामञ्च सरकारले तुरून्त खालि गराओस् र मिचेर ब्यापार गर्ने र गर्न दिनेलाई कानूनी कारवाही होस् ।’
खुल्लामंचको सटर भत्काउन थालियो।यो बिषयमा चाहिँ अब मेयर उपमेयर बिच हानाहान हुनेहोला तैले गर्दा भाकी मैले गर्दा भा भनेर! pic.twitter.com/tFE9XBUvoi
— सुजन खनाल (@Dear_sujan) April 27, 2019