मुसिकोटमा झाडापखाला अझै नियन्त्रणमा आएन, बिरामीको संख्या सय नाघ्यो

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते १६:२६ मा प्रकाशित

गुल्मी, १३ बैशाख – गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो।

स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज बिहानसम्म उक्त सङ्ख्या बढेर एक सय नाघेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले जानकारी दिएका छन्। उक्त मुहानको पानी उमालेर खाँदा पनि मानिसमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिएका छन् ।

बिरामी परेकामध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवलस्थित गौतमबुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको बताइएको छ । स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा आजदेखि ट्याङ्करमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार गरी स्थीति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । प्रकोप क्षेत्रमा दूषित पानी पिएका कारण स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका केही विद्यार्थीसमेत बिरामी परेका छन् । विद्यार्थी बिरामी परेपछि उक्त विद्यालय समेत बन्द गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us