आत्मघाती बम विस्फोट हुनबाट यसरी बच्यो श्रीलंकामा बिनोद चौधरीको होटल

काठमाण्डु टुडे २०७६ वैशाख १३ गते १२:३६ मा प्रकाशित

एजेन्सी – श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम आक्रमणमा विलासी होटल र चर्चहरूमा क्षति पुगेको भए पनि एउटा होटलमा भने आत्मघाती बम नपड्किएको पाइएको छ ।

पाँचतारे ताज समुद्र होटलमा आत्मघाती बम पड्काउन अब्दुल लतीफ जमील मोहम्मद गएका भए पनि उनी सफल हुन सकेनन् ।

बेलायतको किंग्सटन विश्वविद्यालयका विद्यार्थी रहिसकेका मोहम्मद असफल भएपछि कोलम्बोस्थित एक सेफहाउसमा गएका थिए । त्यहाँ उनले बमलाई मर्मत गरेर कोलम्बो चिडियाखानानजिकको एउटा गेस्टहाउसमा पड्काएका थिए । उक्त विस्फोटमा दुईजना मारिएका थिए ।

ताज समुद्रमा उक्त बम पड्केको भए मृतकको संख्या झनै बढ्न सक्ने एक स्रोतले बेलायतको द टाइम्स पत्रिकालाई बतायो ।

ताज समुद्र होटलमा नेपाली अर्बपति विनोद चौधरीको समेत लगानी छ । सन् १९९० को दशकको आरम्भमा उनले भारतको ताज होटल चेनसँग व्यापारिक सम्झौता गरेर श्रीलंका र माल्दिभ्समा रहेका दुईवटा होटललाई पुनर्जीवन दिएका थिए । चौधरीले लगानी गर्नुअघि ती दुवै होटल अशान्ति र अव्यवस्थाका कारण बन्द हुने स्थितिमा पुगेका थिए । श्रीलंकाको त्यही होटल नै ताज समुद्र हो ।

ताज समुद्रमा बम विस्फोट गर्न असफल भएका मोहम्मदले सन् २००६ देखि २००७ को बीचमा बेलायतको दक्षिणपूर्वमा रहेको किंग्सटन विश्वविद्यालयमा अध्ययन गरेका थिए । पछि उनले अस्ट्रेलियामा स्नातकोत्तर पूरा गरेका थिए र श्रीलंकामा आएर सेटल भएका थिए ।

मोहम्मद जस्तै अन्य आक्रमणकारी शिक्षित, मध्यमवर्गीय परिवारका सदस्य भएको अनि उनीहरू त्यति नचिनिएका अतिवादी मुसलमान समूहको सदस्य रहेको रक्षा राज्यमन्त्री रुवान विजेवर्दनेले पत्रकारहरूलाई जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us