भारतीय प्रधानन्यायाधीशमाथि लागेको यौन दुव्र्यवहारको आरोपबारे छानबिन हुने

काठमाण्डु टुडे २०७६ वैशाख ११ गते १७:४६ मा प्रकाशित

एजेन्सी । भारतका प्रधानन्यायाधीश रञ्जन गोगोई विरूद्ध लागेको यौन दुराचारको आरोपबारे छानबिन गर्न तीनजना बरिष्ठ न्यायाधीशहरूको समिति बनेको छ ।

मंगलबार बरिष्ठतम न्यायाधीश एसए बोबडेको संयोजकत्वमा उक्त समिति बनेको हो । उनले सर्वोच्च अदालतका अरू दुई न्यायाधीश एनवी रमण र इन्दिरा बनर्जीलाई पनि समितिमा राखेका छन् ।

सर्वोच्च अदालतकी एक पूर्व कर्मचारीले शनिबार प्रधानन्यायाधीश गोगोईले आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यस्तो उक्त आरोपबारे छानविन गर्न प्रधानन्यायाधीशले आफूलाई नियुक्ति गरेको बरिष्ठतम न्यायाधी बोबडेले बताएका छन् ।

ती पूर्व कार्मचारीले २०१८को अक्टोबरमा गोगोईले आफुमाथि यौन दुर्व्यवहार गरेको भन्दै सर्वोच्च अदालतका २२ जना न्यायाधीशलाई पत्र लेखेकी थिइन् ।

३५ वर्षीया ती महिला त्यतिखेर जूनियर कोर्ट असिस्टेन्टका रूपमा कार्यरत थिइन् । गोगोइले गरेको आपत्ति जनक व्यवहारको विरोध गर्दा आफ्ना पति र परिवारलाई समेत दुःख दिएको उनले बताएकी छन् ।

प्रधान्यायाधीश गोगोईले भने उक्त आरोपलाई स्वतन्त्र न्यायपालिका विरूद्ध गरिएको षड्यन्त्र भन्दै खण्डन गरेका थिए ।

आरोपमाथि छानविन गर्न बनेको समितिले ती महिलालाई बोलाइसकेको छ । यो मामिलामा शुक्रबार पहिलो सुनुवाई हुने बताइएको छ ।

भारतको बारकाउन्सिलले गोगोईमाथि यौन दुराचारको आरोप झुठो र मनगढन्ते भएको भन्दै निन्दा गरेको छ । केन्द्रीय वित्त मन्त्री अरूण जेटलीले पनि प्रधानन्यायाधीशको बचाउ गर्दै फेसबुकमा स्टाटस लेखेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us