पाँच जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ

काठमाण्डु टुडे २०७६ वैशाख ८ गते १४:०४ मा प्रकाशित

काठमाण्डु, ८ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा मनोजकुमार शर्माले शपथ लिएका हुन् ।

उनीहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानुन व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव थिए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रुपमा काम गरेको अनुभव छ ।

राष्ट्रपति भण्डारीले उनीहरू सातैजनालाई तत् पदमा गत शुक्रबार नियुक्ति गरेकी थिइन् । सर्वोच्च अदालतका न्यायाधीश न्यायपरिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका हुन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us