
काठमाण्डु, ८ बैशाख – पोखरा विश्वविद्यालयमा लामो समयदेखि ‘डी प्लस’ ग्रेड भर्ना सम्बन्धमा रहेको विवाद टुंगिको छ ।
पोखरा विश्वविद्यालयबाट मान्यता प्राप्त ४२ कलेजले कलेजको नियमविपरीत आफूखुसी विद्यार्थी भर्ना गरेको भन्दै लामो समयदेखि विवाद चलिरेहको थियो । विश्वविद्यालयले शनिबार राखेको प्राज्ञिक परिषद्को बैठकमा एक विज्ञप्तिसहित ‘सी ग्रेड’ भन्दा तल ल्याउने अर्थात् ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको भर्ना रजिष्ट्रेशन नहुने प्रस्ट पारेको हो । योसँगै पोखरा विश्वविद्यालय अन्तर्गतका ४२ कलेजमा ‘डि प्लस’ ग्रेड आएका र अध्यनरत ३९१ विद्यार्थीको पनि रजिष्ट्रेशन नहुनेसमेत विश्वविद्यालयले जानकारी दिएको छ ।
कलेजले नियमविपरीत भर्ना गरेको विद्यार्थीको रजिष्ट्रेशन रोक्नुपर्ने माग गर्दै पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएर विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा उनीहरूले विश्वविद्यालयको नियम खुलेआम मिचेर महँगो शुल्कमा नियमविपरीत विद्यार्थी भर्ना गरेर करिव चार सय विद्यार्थीको भविष्य चौपट पारेकोमा निजी कलेजलाई कारबाहीको माग गर्दै सहकुलपतिलाई कालो झण्डासमेत देखाएर आन्दोलन गरेका थिए ।
योसँगै विश्वविद्यालयले चालू शैक्षिक सत्रमा तीनपटक परीक्षा मिति हेरफेर गरेको थियो । गएको फाल्गुन ३० गते सञ्चालन गर्ने भनि तोकिएको परीक्षा मितिलाई चैत्र ३० मा सारिए पनि विद्यार्थी आन्दोलनले परीक्षा सञ्चालन हुन सकेको थिएन । विद्यार्थीले गरेको आन्दोलन र तालाबन्दीका कारण वैशाख ६ गते सञ्चालन गर्ने भनिएको ४ संकायको परीक्षासमेत स्थगित गरिएको थियो ।
पटकपटक परीक्षा मिति फेरबदल हुनुका साथै विद्यार्थीले गरेको आन्दोलन नरोकिएपछि प्राज्ञिक परिषद्ले शनिबार विज्ञप्तिसहित ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीको रजिष्ट्रेशन नहुने निष्कर्षमा पुगेको हो । सो विश्वविद्यालयले आफूसँग सम्बन्धित रहेका कुनै पनि कलेजले ‘डी प्लस’ ग्रेड ल्याउने विद्यार्थीलाई भर्ना गरेको पाइएमा अर्थात् पुनः नियम उल्लघन गरेको अवस्थामा सम्बन्धित कलेजको सम्बन्धन खारेज हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।