राप्रपाले गर्यो राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित 

काठमाण्डु टुडे २०७६ वैशाख ७ गते १३:४७ मा प्रकाशित

काठमाण्डु, ७ बैशाख – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबारको लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ ।

दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ ।

आज शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोश्रो चरणको संघर्षको कार्यक्रमलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं ३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको गरेको छ ।

बैठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आह्वान समेत गरेको छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयता बारे जनमतसंग्रह गरिनुपर्ने लगायतका २२ बुँदे माग राख्दै राप्रपाले चरणबद्ध संघर्ष गर्दै आएको छ । फागुन ७ गते प्रधानमन्त्री केपी ओलीलाई माग पूरा गर्न ध्यानाकर्षण गराएको राप्रपाले त्यसयता पहिलो चरणको जनसंघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us