
बिराटनगर, ७ बैशाख – प्रदेश १ सरकारले ल्याएको बृहत विराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ प्रदेश सभामा दर्ता भएको छ ।
प्रदेश सरकार र स्थानीय तहबीच समन्वय गरी एकीकृत विकास आयोजना संचालन गर्ने उद्देश्यले सो विधेयक तयार पारिएको प्रदेश सरकारको दाबी छ ।
प्रदेश सरकार गठन भएको १४ महिनाको अवधिसमेत नाम र स्थायी राजधानी तोक्न नसकेको प्रदेश सरकारले सुनसरीको इटहरीलाई भौगोलिक हिसाबमा केन्द्र भागमा राखेको छ ।
प्रदेश सरकारकाले जारी अधिवेशनबाट प्रदेशको स्थायी राजधानी र नामको टुंगो लगाउने तयारी गरिरहेको छ । नाम र राजधानी तोक्ने तयारी भइरहेका बेला विराट क्षेत्रको विधेयकलाई राजधानीको मुद्दासँग जोडेर हेर्ने गरिएको छ ।
राजधानीका लागि धनकुटा, धरान, इटहरी र अस्थायी राजधानी विराटनगरले दाबी गरिरहेका छन् ।