
काठमाण्डु, ६ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले चैत ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका सार्वजनिक गरेको छ । भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा राजकीय भ्रमण गर्न लागेकी हुन् ।
भ्रमण तालिकाअनुसार राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) को दोस्रो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी चिनियाँ राष्ट्रपतिले आयोजना गर्ने भोजमा पनि सरिक हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रतिनिधिसभाका सांसदहरु, उच्च पदस्थ कर्मचारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहने छन् ।