
हेटौंडा, ५ बैशाख – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको अवज्ञा गरेको आरोपमा मकवानपुरमा दुई वटा सवारीसाधनमाथि आगजनी भएको छ ।
भीमफेदी गाउँपालिकामा तरकारी बोक्ने ट्रक र थाहा नगरपालिकामा बुधबार राति कुखुरा बोक्ने जिपमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सागरविक्रम राणाका अनुसार थाहा नगरपालिका–४ सिमभञ्ज्याङमा हेटौंडातर्फ आइरहेको ना २ च ९०९४ नम्बरको कुखुरा बोक्ने जिपमा तीन जनाको समूहले आगजनी गरेका हुन् ।
जिपको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ । त्यस्तै, भीमफेदी गाउँपालिका–९ गोलमोडमा बिहीबार मध्यरातमा १२ः२० बजे पालुङतर्फ गइरहेको ना ४ ख ७९६० नम्बरको तरकारी लोड गरेको मिनी ट्रकमा तोडफोड र आगजनी गरिएको छ । ट्रकको अगाडिको भागमा पूर्ण रुपले क्षति पुगेको छ ।