अब नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्‍योः प्रधानमन्त्री

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते ९:५९ मा प्रकाशित

काठमाण्डु, ५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाइएपछि खुशी व्यक्त गरेका छन् ।

बिहीबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरेको टिप्पणी गरेका छन् ।

स्याटेलाइट निर्माणदेखि प्रक्षेपणको कामसम्म संलग्न रहेका सबै वैज्ञानिकलाई उनले बधाई दिँदै यसबाट नेपालको प्रतिष्ठा बढेको उल्लेख गरेका छन् ।

बिहीबार बिहान २ः३१ बजे अमेरिकाको भर्जिनियाबाट नेपालको भूउपग्रह ‘नेपालीस्याट-१’ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्वीर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । यो नेपाली भू-उपग्रह निर्माणमा जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्के लगायत संलग्न थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us