
काठमाण्डु, २ वैशाख – मुलुककै राजधानी काठमाण्डुमै एक महिनादेखि मोटरबाटो बन्द हुँदा यात्रुले सास्ती ब्यहोर्नु परेको छ ।सामाखुसीदेखि ग्रीनल्यान्ड चोकसम्मको मोटरबाटो बन्द हुँदा यात्रुलाई समस्या परेको हो । टोखा नगरपालिका खरिबोट बस्ने रमा न्यौपाने बागबजार जानका लागि सामाखुशी चोक आएर बस चढ्नुपर्ने बाध्यता भएको बताउछिन । ‘लामो समयसम्म बाटो बन्द हुँदा साह्रै गाह्रो भएको छ’, उनी भन्छिन् ।
यस्तै, टोखा नगरपालिकाकै माधवटार हाइट बस्ने इन्द्रविलास घिमिरे पनि बाटो बन्द हुँदा आवतजावत गर्न अप्ठ्यारो भएको बताउछन् । ‘चाँडो सक्नुपर्ने काम ढिलो गरेर सक्दा हामीजस्ता यात्रुलाई समस्या परेको छ’, उनी भन्छन् ।
यी त केवल प्रतिनिधि पात्रमात्र हुन् । सामाखुसीदेखि ग्रीनल्यान्डसम्म सवारी साधन चल्न नपाउँदा धेरै यात्रु समस्यामा परेका छन् । उक्त बाटोमा सामाखुसी यातायात, शिवपुरी, झोर टोखा हुँदै सामाखुसी चल्ने यातायात र माइक्रो सञ्चालन हुँदै आएका थिए ।
काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी र नुवाकोटको त्रिशूली जाने बाटो बन्द हुँदा लाखौँ यात्रुलाई समस्या परेको हो । सामाखुशी ग्रीनल्यान्डको बाटो बन्द हुँदा सवारी साधन सामाखुसी चोकदेखि बसुन्धरा चौकी धापासी हाइट हुँदै ग्रीनल्यान्ड जानुपर्ने बाध्यता रहेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौला ग्रान्डजस्तो महत्वपूर्ण अस्पतालमा जाने मुख्य बाटो अवरुद्ध हुँदा सयौँ बिरामीलाई गाह्रो परेको बताउछन् । ‘सरकारले पूर्वाधार निर्माणमा ढिलाई गर्दा लाखौँ जनताले दुःख पाएका छन्’, उनी भन्छन् ।
महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख झलक थापामगर सामाखुसी चोकदेखि ग्रीनल्यान्ड चोकसम्म बाटो मर्मत गर्दा ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको बताउछन् । ‘ट्राफिक डाइभर्सन गर्दा साँघुरो बाटो र ठूला गाडी हुँदा धेरै जाम हुने अवस्था आउने गरेको छ’, उनले भने ।
टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल ढल निर्माण गर्दा बाटो बन्द गर्नुपरेको बताउछिन । ‘टोखा नगरपालिकाले बाटो कालोपत्रे तथा ढल निर्माण गर्नका लागि बाटो बन्द गरेको हो’, उनी भन्छन् । बाटो फराकिलो र ढल निर्माण भइसक्न अझै एक महिना लाग्ने उनको भनाइ छ । रासस