भरतमोहनको जस्तो बजेट !

-विष्णु रिजाल २०७५ फागुन ३० गते ११:४६ मा प्रकाशित

‘एकदिन म मन्त्रालयमा बसिरहेको थिएँ’, अर्थसचिव रामविनोद भट्टराई आएर भन्नुभयो– ‘मन्त्रीज्यू, हजुरले साह्रै राम्रो कार्यक्रम ल्याउन थाल्नुभयो । तर, एउटा समस्या आयो । यो वृद्धभत्ता कार्यक्रममा कति रकम विनियोजन गर्ने ? त्यो बजेटमा लेख्न नसकिने भयो । किनभने, देशभरि ७० वर्षदेखि माथिका बृद्धबृद्धा नागरिक कति छन् ? त्यसको लगत छैन । लगत नभई कति रकम विनियोजन गर्ने ? ०५२/५३ को बजेटमा वृद्धभत्ताको कार्यक्रम सञ्चालन गर्न बृद्धबृद्धाहरूको लगत सङ्कलन गर्ने कार्यक्रम राखौँ । त्यसका लागि यो बजेटमा रकम विनियोजन गरौँ ।

लगत आइसकेपछि अर्को वर्ष बृद्धभत्ता कार्यक्रम सञ्चालन गरौँ ।’ मैले अर्थसचिवलाई टुलुक्क हेरेँ । म आफूलाई चलाख भन्थेँ । तर, मभन्दा चलाख रहेछन् अर्थसचिव भन्ने लाग्यो । कार्यक्रमलाई पन्छाउन कस्तो जुक्ति गरेछन् जस्तो लाग्यो । मैले ‘अर्थसचिवज्यू, एउटा सादा कागज लिएर आउनुस्’ भनेपछि उहाँ जानुभयो र सादा कागज ल्याउनुभयो । मैले ‘जेष्ठ नागरिक भत्ताका लागि २५ करोड रुपियाँ’ लेखेर उहाँलाई ‘यो रकम विनियोजन गर्नुहोस्, यदि यो पैसाले पुगेन भने म मेरो घरबाट दिन्छु’ भनेँ । मैले यति भनेपछि उहाँले कुरा बुझ्नुभयो र ‘हुन्छ’ भनी जानुभयो ।’

माथिको पंक्ति गत फागुन १८ गते राती दिवंगत हुनुभएका पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीले आफ्नो आत्मकथा ‘मेरो जीवनयात्राः केही सम्झनाहरु’ मा व्यक्त गरेका छन् । बृद्धभत्ता सुरु गर्नका लागि राजनीतिक तहबाट अनुमति पाउनका लागि आफूले गरेका प्रयत्नहरुको विवरण प्रस्तुत गर्दै कर्मचारीतन्त्रको मनोवृत्तिका बारेमा उनले आत्मकथामा विस्तृतमा खुलाएका छन् ।

कम्युनिस्टहरु सत्तामा आए भने ६० वर्ष नाघेकालाई गोली ठोकेर मार्छन् भनेर अफवाह फैलाइएको बेला भरतमोहन अधिकारीले अघि सारेको सोचले आम मनोविज्ञानमै फरक परिवर्तन ल्याइदिएका कारण आजसम्म कम्युनिस्टहरुसँग जेष्ठ नागरिकहरु कृतज्ञ छन् । आर्थिक सन्तुलन र उत्पाननशीलताका हिसावले केही आलोचना भए पनि नागरिकसम्म राज्यलाई पु¥याउने उनको सोच कति दीर्घकालीन थियो भन्ने कुरा त्यसयता सबै उनकै पदचिन्हमा हिँड्नुले पुष्टि गर्दछ ।

विकसित देशहरुले आफ्ना नागरिकको सामाजिक सुरक्षाको दायित्व बहन गर्छन् । नेपालमा त्यति गर्न नसके पनि बृद्ध र अशक्त उमेरमा हाम्रा साथमा राज्य छ भन्ने अनुभूति दिलाउनका लागि सुरु गरिएको उक्त कार्यक्रम सार्क क्षेत्रमा अग्रणी बनेको थियो ।

०५१ सालमा नेपालमा चुनावबाट कम्युनिस्टहरु सरकारमा आउँदा धेरैका लागि कौतुहल, रहस्य र आशंकाको विषय बनेको थियो । त्यतिबेलाको चर्को एमालेले अब आर्थिक क्षेत्रमा के गर्छ भन्ने जिज्ञासा धेरैमा थियो । कानुनमा स्नातक र अर्थशास्त्रमा स्नातकोत्तर अनि राजनीतिमा सधैँभरि नरम धारमा देखिएका अधिकारीले अर्थमन्त्रालयको जिम्मेवारी पाउनु आफैँमा सबैलाई आश्वस्त पार्ने कामको सुरुआत थियो । उनले त्यो अपेक्षालाई खेर जान दिएनन् ।

कम्युनिस्टहरु आए भने उद्योगधन्दाहरु निजीकरण गर्छन् र निजी क्षेत्रलाई संकुचित पार्छन् भनेर फैलाइएको मनोविज्ञानलाई उनले व्यवहारबाटै चिरिदिएका कारण त्यसयता निजी क्षेत्र कम्युनिस्ट पार्टीसँग कहिल्यै झस्किनुपरेन । ०४८ सालमा सत्तामा आएपछि नेपाली कांग्रेसले धमाधम गरेको निजीकरणको प्रक्रियालाई रोके पनि सरकारले चलाउन नसक्ने उद्योगहरु निजी क्षेत्रलाई दिन सकिन्छ भन्ने कुराका विरुद्धमा उनी थिएनन् ।

निजी क्षेत्रलाई आश्वस्त पार्न उनले यसका लागि ‘छनोटपूर्ण निजीकरण’को अवधारणा अगाडि ल्याएका थिए । साथै, त्यतिबेलाको अन्तर्राष्ट्रिय परिस्थितिलाई भड्किन नदिनका लागि विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक जस्ता संस्थालाई विश्वासमा लिएर काम गर्न खोजेका थिए । महत्वपूर्ण कुरा, यसो गरिहँदा पनि उनले आफ्नो पृष्ठभूमि, जनताका सामु आफूले गरेको बाचा र आफ्नो सिद्धान्तलाई बिर्सिएका थिएनन् ।

भरतमोहन अधिकारीको अर्थशास्त्र र आर्थिक सोचको पृष्ठभूमिमा निजी क्षेत्र थिएन भन्ने होइन । तर, उनले बजेट बनाउँदा जहिले पनि जनतालाई केन्द्रमा राखे । यदि त्यस्तो गर्दैनथे भने जेष्ठ नागरिकलाई राज्यका तर्फबाट सम्मान स्वरुप मासिक एक सय रुपियाँ भत्ता दिने सोच आउने थिएन । त्यो न एमालेको घोषणापत्रमा थियो न त मुख्य नेताहरुले नै सोचेका थिए ।

अर्थमन्त्रीका रुपमा भरतमोहनले पहिलो पटक राज्यलाई गाउँसँग जोडेका थिए । त्यतिबेलासम्म मुश्किलले ५० हजार रुपियाँ गाउँ विकास समितिमा पुग्ने गरेकोमा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ अभियान चलाएर एकै पटक तीन लाख रुपियाँ गाउँ पठाउँदा उत्साहले बीसौँ लाखका काम भएका थिए ।

बाटोघाटो, विद्यालय, खानेपानी जस्ता आधारभूत आवश्यकताका लागि सिंहदरबार धाउनुपर्ने बाध्यताबाट मुक्त गर्नु त्यतिबेला कम जोखिम थिएन । खर्च गर्ने संरचना छैनन् र भ्रष्टाचार हुन्छ भन्दै चर्को आलोचना भए पनि उनको त्यही सोचकै कारण गाउँका जनताले हाम्रा लागि पनि सरकार रहेछ भन्ने अनुभूति गर्न पाएका थिए ।

मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रीकरण गरे भने त्यसका आर्थिक सोचहरु भरतमोहन अधिकारीमार्फत सार्वजनिक भए ।

राष्ट्रिय पुँजीपति वर्ग र अन्तर्राष्ट्रिय पुँजी तथा प्रविधिलाई पनि विश्वासमा लिँदै जनतालाई केन्द्रमा राखेर बजेट बनाउनुपर्छ भन्ने जुन सोच भरतमोहनले ल्याएका थिए, त्यसको ब्याज आजपर्यन्त नेकपाले उठाइरहेको छ । सशस्त्र संघर्षमार्फत राज्यसत्ता कब्जा गर्ने उद्देश्यसहित १० वर्ष युद्ध लडेको माओवादी सत्तामा आएपछि ०६५ मा पनि भरतमोहनकै पदचापबाट टाढा जान सकेन ।

निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहकार्यबाट राष्ट्रिय पुँजी निर्माण गर्ने र त्यसका आधारमा अर्थतन्त्र चलाउने सोचमा आधारित भएर केन्द्रमा सधैँ आमजनता राखेकै कारण भरतमोहन अधिकारी भौतिक रुपमा नरहे पनि लामो समयसम्म धेरैका मनमष्तिष्का बाँचिरहनेछन् र कम्युनिस्ट सरकारका प्रत्येक अर्थमन्त्रीमाथि ‘भरतमोहनको जस्तो बजेट’ बनाउने दवाव परिरहनेछ ।

फागुन १८ गते राती दिवंगत भएका भरतमोहन अधिकारी नेकपाका त्यस्ता सीमित नेताहरुमध्ये एक थिए, जसको पार्टी बाहिर पनि उत्तिकै सम्पर्क र मर्यादा थियो । पञ्चायती कालमा धेरै कम्युनिस्ट नेता–कार्यकर्ता भूमिगत रहिरहँदा भरतमोहन अधिकारी खुल्ला राजनीतिमा सक्रिय थिए ।

कानुन व्यवसायीको पृष्ठभूमिले सबैसँग सम्पर्कमा रहन, बहस गर्न र आफूलाई लागेका कुरा लेख्नमा उनलाई अरुभन्दा सजिलो थियो । सहोदर दाजु मनमोहन अधिकारीका कारण सानैदेखि राजनीतिमा परिचित हुन पाएका उनले आफूलाई आजीवन राजनीतिमै सक्रिय राखे ।

कम्युनिस्ट आन्दोलन चिराचिरामा विभक्त भएका बेला पनि निराश नभएर त्यसलाई एकीकृत गर्न लाग्ने भरतमोहनलाई सबैसँग सहकार्य गर्न सक्ने, कसैलाई नचिढाउने र आफूलाई ठीक लागेको काममा निरन्तर लागिरहने उनको स्वभावले सबैक लागि ग्राह्य बनाएको थियो । विनम्र, सरल र तार्किक उनी अरुका जायज तर्क स्वीकार गर्नमा कुनै कञ्जुस्याइँ गर्दैनथे । यही गुणका कारण उनीसँग एकपटक नजिक भएको मानिस टाढिन मुश्किल पर्दथ्यो ।

मैले ०६४ सालमा भरतमोहन अधिकारीको आत्मकथा ‘मेरो जीवनयात्राः केही सम्झनाहरु’ सम्पादन गर्दा उनका जीवनका विविध पाटालाई नजिकबाट बुझ्न पाएको थिएँ । एउटै नेतामा सबै गुण हुँदैन, यदि कसैले मसँग छ भन्छ भने त्यो पाखण्ड हुन्छ । भरतमोहन अधिकरीसँग पनि संगठनमा भन्दा बौद्धिक र राजकीय क्षेत्रमा बढी ज्ञान थियो ।

टीम बनाउन र त्यसको अगुवाइ गर्दै मिलेर काम गर्न सक्ने क्षमताका कारण उनलाई नयाँ पुस्तासँग मिलेर काम गर्न सक्ने पहिलो पुस्ताका अग्रणी र प्राप्त जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न सक्ने नेताका स्थापित गराएको थियो । सायद, यही क्षमताका कारण उनी एमालेबाट सबभन्दा बढी (पाँच पटक) मन्त्री हुने एक मात्र नेता बने, जसमध्ये चारपटक त अर्थमन्त्रालय नै सम्हाले ।

१९९३ बैशाख २२ गते जन्मिएका भरतमोहन अधिकारीले भारतको बनारसबाट उच्च शिक्षा हासिल गर्ने बेलादेखि आफूलाई कम्युनिस्ट पार्टीमा औपचारिक रुपमा समाहित गरेका थिए । नेकपाको दोस्रो महाधिवेशन (२०१४) मा बनारसबाट प्रतिनिधित्व गरेका उनी तेस्रो महाधिवेशन (२०१९) बाट केन्द्रीय कमिटी सदस्य बनेका थिए ।

त्यतिबेला नेताहरुबीचको व्यक्तित्वको टकराव, दरबारिया घुसपैठ र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रभावले गर्दा कम्युनिस्ट पार्टीमा टुटफुटले भित्रियो र आन्दोलन छिन्नभिन्न हुन थाल्यो । नेताहरुले आ–आफ्नै समूह बनाउँदा दाजु मनमोहनसँग रहेका उनले पूर्वकोशी प्रान्तीय कमिटीमार्फत एकताका लागि निरन्तर कोसिस मात्र गरेनन्, विभाजित पार्टीलाई एक बनाउन ०२८ सालमा मनमोहन अधिकारी, मोहनविक्रम सिंह, निर्मल लामा, शम्भुराम श्रेष्ठ जस्ता पहिलो पुस्ताका धुरन्धर नेताहरुलाई एकै ठाउँमा राखेर केन्द्रीय न्युक्लियस बनाउन सक्रिय देखाए ।

त्यसले सफलता पाउन नसकेपछि मनमोहन अधिकारीको नेतृत्वमा ०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी गठन गरे पनि सन्तुष्टी मिलेन र ०४३ सालमा साहना प्रधानले नेतृत्व गरेको पुष्पलाल समूहसँग एकता गरी नेकपा (माक्र्सवादी) बनाउन सक्रिय भए ।

०४६ सालको जनआन्दोलनमा सात वामपन्थी पार्टीलाई एक ठाउँमा ल्याएर वाममोर्चा बनाउन र ०४७ सालमा तत्कालीन माले र माक्र्सवादीबीच एकता गरी नेकपा (एमाले) बनाउन अग्रणी भूमिका निर्वाह गर्नेमध्ये भरतमोहन अधिकारी एक थिए ।

नेपालको राजनीतिमा माले र माक्र्सवादीबीच एकता भएर एमाले बन्नु धेरै हिसावले ऐतिहासिक छ । विश्वमा कम्युनिस्टहरु रक्षात्मक बन्दै गरेको बेला माक्र्सवादी समूहका पुराना र माले समूहका युवा नेताहरुबीचको एकताले कम्युनिस्टहरुलाई मात्र लोकप्रिय बनाएन, नवस्थापित प्रजातन्त्रको स्थायित्वलाई नै आधार प्रदान गरेको थियो ।

त्यसको पृष्ठभूमिमा ०४७ सालको संविधान मस्यौदा आयोगमा प्रतिनिधित्व गर्ने मालेका नेता माधव नेपाल र आफूबीचको सहकार्यले आधार प्रदान गरेको कुरा भरतमोहनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । संविधानमा राख्ने अन्तरर्वस्तुमा भएको सहमतिका कारण पार्टी एकताको आधार तयार भएको र त्यही आधारमा दुबै पार्टीबाट वार्ता टोलीहरु बनेर एकता सम्भव भएको थियो ।

मदन भण्डारीले जनताको बहुदलीय जनवाद नामक लोकतान्त्रिक प्रतिस्पर्धामा आधारित कार्यक्रम ल्याउँदा त्यसको पक्षमा अग्रपंक्तिमा उभिने पुरानो पुस्ताका नेताहरुमा भरतमोहन अधिकारी थिए । मनमोहन अधिकारी जस्ता नेताहरु पनि सहमत हुन नसकिरहेको बेला माक्र्सवादी धारबाट उनले त्यसलाई समर्थन मात्र गरेनन्, आर्थिक पाटोमा योगदान पनि दिए । पछि ०५८ सालमा एमाले र मालेबीच पार्टी एकता गराउन एमालेबाट भरतमोहनकै नेतृत्वमा वार्ता टोली बनेको थियो । ०७४ मा एमाले र माओवादीबीच एकता हुने घोषणा हुँदा धेरै खुसी हुनेमध्ये उनी एक थिए ।

उच्च शिक्षा हासिल गरेका कारण आफ्ना अगाडि अवसरका अनेक ढोका खुल्ला रहँदारहँदै पनि अनिश्चित भविष्य बोकेर राजनीतिक यत्रामा होमिएका भरतमोहन अधिकारीको राजनीतिक व्यक्तित्व कम्युनिस्ट पार्टीहरुबीच एकता निर्माण गर्नमा सक्रिय भएको पाइन्छ ।

उनको व्यक्तिगत स्वभावले पनि होला, उनीसँग कुरा गर्न, आफ्नो विमतिहरुमा सहमति पहिल्याउन र एकताका लागि कुराकानी गर्न धेरै नेताहरुलाई सहज हुन्थ्यो । सबैसँग घुलमिल गर्न सक्ने र व्यक्तिगत सम्बन्ध राम्रो राख्न सक्ने क्षमताकै कारण कम्युनिस्ट आन्दोलनमा भएका मुख्य एकताक्रमहरुमा उनी छुटेको पाइँदैन ।

पदमा रहँदा हुने सक्रियता व्यक्तिको निजी दिनचर्या होइन । भरतमोहन अधिकारी चाहिँ पदमा नरहँदा पनि मानिसहरुसँग निरन्तर भेटघाट गरिहने, के भइरहेको छ र के हुँदैछ भनेर अद्यावधिक भइरहने र आफूलाई लागेका कुरा सार्वजनिक रुपमा व्यक्त गरिरहन्थे । ०७१ मा एमालेको नवौँ महाधिवेशनबाट ७० वर्षको उमेर हदका कारण विदा पाएपछि पनि उनी चुप लागेर बसेनन् ।

बेलाबेलामा पार्टी कार्यालय पुग्न र नेताहरुलाई फोन गरेरै भए पनि सल्लाह–सुझाव दिन उनले छाडेनन् । भरतमोहन अधिकारीको सक्रियता, टीम वर्क र प्राप्त जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्न सक्ने क्षमताकै कारण होला, पार्टीका ठूला आन्तरिक आयोजनाहरु उनकै नेतृत्वमा हुने गर्दथे । एमालेको छैटौँ, सातौँ र आठौँ महाधिवेशन मूल व्यवस्थापनको जिम्मा उनले नै पाएका थिए । त्यसैगरी, बेलाबेलामा पार्टीभित्रका समस्या समाधानका लागि बनाइने कार्यदल, संविधानसँग सम्बन्धित विषयमा आइपर्ने काम र आर्थिक मामिलासँग सम्बन्धित विषय उनकै जिम्मेवारीमा पर्दथे ।

हरेक व्यक्तिको आफ्नो स्वभाव र शैली हुन्छ । कोही मानिस आफूले केही गर्न नसके पनि आजीवन मुर्मुरिए अरुलाई गाली गर्दै समय व्यतीत गरिहेको हुन्छ । भरतमोहन अधिकारी त्यसभन्दा पृथक थिए । पार्टीको नेतृत्वलाई सघाउनुपर्छ भन्ने भावनाबाट निर्देशित भएर उनी पार्टीमा भूमिका निर्वाह गर्दथे ।

माधवकुमार नेपालसँग महासचिव रहुञ्जेल र पछिसम्म पनि उनको हार्दिक र सहयोगी भूमिका रह्यो भने झलनाथ खनालले पार्टीमा जिम्मेवारी पाएपछि उनले तन–मनले सघाए । यतिसम्म कि खनालले पार्टीलाई थाहै नदिएर माओवादीसँग सहमति गर्दै प्रधानमन्त्री हुन मन गरेपछि त्यसका लागि वातावरण बनाउनेदेखि सात बुँदे सहमतिका लागि आफ्नै घरमा बैठक आयोजना गर्नेसम्मका काम भरतमोहनले गरे ।

पछि अर्थमन्त्री भएका अधिकारीले खनालको सीमित घेरामा काम गर्ने, समकालीन नेताहरुलाई उपेक्षा गर्ने र स्वार्थ प्रेरित निर्णय गर्ने शैलीको आफ्नो दोस्रो आत्मकथा ‘संसद्देखि संविधानसभासम्म’ मा निर्भिकतापूर्वक आलोचना गरेका छन् । केपी ओली अध्यक्ष भएपछि उनलाई सघाउन चाहे पनि वालुवाटारको बलियो घेराका कारण सम्भव नभएको उनको गुनासो थियो ।

समग्रमा, भरतमोहन अधिकारी सक्रियतापूर्वक जीवन बाँचेर विदा भएका छन् । सफल र लोकप्रिय अर्थमन्त्रीका रुपमा आममानिसहरुका हृदयमा अमिट छाप निर्माण गरेका कारण उनको निधन हुँदा मानिसहरुले श्रद्धापूर्वक सम्झना गरेका छन् । उनको निधन हुँदा अस्पताल, पार्टी कार्यालयदेखि आर्यघाटसम्म देखिएको मानिसहरुको उपस्थितिले यसको पुष्टि गर्दछ । सायद, एकजना नेताले आफ्नो जीवनमा आर्जन गर्ने सबभन्दा ठूलो सम्पत्ति यही नै हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us