लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्यः सभामुख

काठमाण्डु टुडे २०८२ वैशाख २० गते ११:२७ मा प्रकाशित

काठमाण्डू, २० वैशाख–सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रता जस्तो संवेदनशील विषयमा संसद सधैं सजग र प्रतिबद्ध रहने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को अवसरमा जारी सन्देशमार्फत उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानले मौलिक हकका रूपमा अंगीकार गरिसकेको स्मरण गराएका हुन् ।

सभामुखका अनुसार प्रेस स्वतन्त्रता केवल पत्रकारहरूको हकको विषय मात्र नभई आमनागरिकको सुसूचित हुने अधिकारसँग जोडिएको विषय भएको स्पष्ट गरे ।

लोकतन्त्रको जग बलियो बनाउन स्वतन्त्र प्रेसको भूमिका अपरिहार्य भएको उनको भनाइ छ। सन्देशमा उनले संसदको मुख्य दायित्व नै संविधानको आत्मा मानिएको प्रेस स्वतन्त्रताको रक्षा गर्नु हो भन्ने धारणा प्रस्तुत गरेका छन् ।

स्वतन्त्र र निर्भीक सञ्चार माध्यममार्फत मात्र सत्य तथ्य उजागर हुने, जनप्रतिनिधिहरू जवाफदेही बन्ने र समावेशी शासन प्रणाली बलियो हुने विश्वास उनले व्यक्त गरेका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसलाई उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी सरोकार, चुनौती र अवसरमाथि गम्भीर विचार–विमर्श गर्ने समयका रूपमा लिएका छन् । सभामुख घिमिरेले सञ्चारकर्मी, प्रेस संस्थान, अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र आम जनसमुदायप्रति शुभकामना व्यक्त गर्दै लोकतन्त्रको मूल मर्म बोक्ने सञ्चारको संरक्षणमा संसद निरन्तर प्रतिबद्ध रहने बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us