
काठमाण्डू, २० वैशाख– उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको वर्तमान शासन सत्ता टिकाउनु सरकारको प्रमुख कार्यभार रहेको बताएका छन् ।
स्यस्यः समाज यलको ११औं वार्षिकोत्सवको अवसरमा शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा सिंहले सरकारले वर्तमान शासन प्रणालीलाई स्थिर र प्रभावकारी बनाउन सरकारले गम्भीर रूपमा काम गरिरहेको बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनालाई कार्यान्वयनमा लैजान सरकारको प्राथमिकताका साथ लागिपरेको उनको भनाइ थियो ।
सिंहले हालको संविधानले समेट्न खोजेको समावेशीता र जनताको प्रतिनिधित्वको भावना समयअनुसार थप परिष्कृत गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए ।
संविधानका त्रुटिहरूलाई साझा प्रयासबाट सुधार गर्दै अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे ।
उनले संविधानको पूर्ण कार्यान्वयनका लागि राजनीतिक स्थायित्व अपरिहार्य भएको उल्लेख गर्दै त्यसैका लागि विभिन्न दलहरूबीच सहकार्यमा वर्तमान सरकार गठन भएको दाबी गरे ।
आर्थिक संकटबाट मुलुकलाई बचाउन दिगो समाधानका उपायहरूमार्फत प्रयास गरिरहेको सिंहको भनाइ थियो ।
संविधानले प्रदान गरेका अधिकारहरू प्रयोग गर्दा नागरिकहरूले आफ्नो जिम्मेवारीप्रति पनि सचेत हुनुपर्ने सिंहले बताए ।