जहाँ छन् नागरिकताधारी अनागरिक !

काठमाण्डु टुडे २०८२ वैशाख २० गते ११:२२ मा प्रकाशित

कञ्चनपुर, २० वैशाख– रात पर्नासाथ ढक्का शिविर अन्धकारमा हराउँछ । बालबालिका पढ्न र गृहकार्य गर्न पाउँदैनन् । वृद्धवृद्धाहरूले औषधि देख्न सक्दैनन्, र आमाले साँझको भात पकाउन मोबाइलको उज्यालोको सहारा लिनुपर्छ ।

यो कथा हो, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित ६ सय ४ परिवारको । जसले २०६४ सालदेखि झुपडीको साहारामा जीवन धानेका छन् । झुपडीमात्र होइन, उनीहरूको जीवन पनि अस्थायी भएको २ दशकभन्दा बढी भइसकेको छ ।

शिविरमा विद्युतीय लाइन त कता हो कता, सोलार राख्नसमेत अनुमति छैन । त्यही कारण, ढक्का शिविरका रामदास चौधरी जस्ता बासिन्दा मोबाइल चार्ज गर्नकै लागि एक किलोमिटर टाढा चान्देउ पुग्छन् । त्यहाँ मोबाइल चार्ज गर्न १० रुपैयाँ तिर्नुपर्छ। उनलाई लाग्,छ ‘हाम्रो जीवन पनि मानौं चार्ज नभएको मोबाइलजस्तै भएको छ ।’

अँध्यारोमा पढाइ , उज्यालोमा आश्वासन
विद्यालय जाने उमेरका बालबालिकाले रात परेपछि किताब हेर्न पाउँदैनन् । न उनीहरूसँग टर्च लाइट छ, न टर्च लाइट चार्ज गर्ने बिजुली । मोबाइलको उज्यालोमा पढ्न पनि कठिन किन छ भने अभिभावकले मोबाइल चार्ज गर्न भोलिपल्ट १० रुपैयाँ छुट्याउनु पर्ने हुन्छ ।

‘हाम्रो सन्तान पढ्न पाएका छैनन्, उज्यालो त सपना जस्तै हो,” शिविर संघर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारी भन्छन्, ‘२३ वर्ष भयो, अझै हामी कागजमै छौँ । कति आयोग बने, प्रतिवेदन लेखिए । तर पुनःस्थापनाको काम कहाँ पुग्यो भन्ने कसैलाई थाहा छैन ।’

खेतमा फलेको जनावरले खायो, रोग लाग्दा औषधि छैन
शिविरका अधिकांश परिवारले आफैं खेत जोतेर खान्छन् । तर, त्यो अन्न जङ्गली जनावरले खाइदिन्छन् । अनि धान, मकै, गहुँ रोप्न, गोड्न वा थ्रेसिङ गर्न पनि निकुञ्जको अनुमति चाहिन्छ । यी नियमहरूको जालोमा उनीहरूको जीवन झन जकडिएको छ ।
वृद्धवृद्धाहरू औषधिको आशामा छन् । तर न स्वास्थ्य चौकी छ, न बालबालिकाका लागि खोपको व्यवस्था । ‘हामीले कहिल्यै खोपको सुई छोएका छैनौं, बालबालिकाले काखैमा रोग बोकेर हुर्किन्छन्’, एक आमा भन्छिन् ।

नागरिकता छ, तर हामी अनागरिक छौं

ढक्का शिविरका बासिन्दाहरू आफूलाई नागरिक भएर पनि अनागरिक ठान्छन्। उनीहरूको नागरिकता कार्ड छ, तर सरकारी सेवामा पहुँच छैन । उज्यालो त परै जाओस्, शौचालय, पानी, औषधि सबै कुराबाट उनीहरू बञ्चित छन् । लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल राना भन्छन्, ‘हामीले सोलार जडान गर्न योजना बनाएका थियौँ, तर निकुञ्जले अनुमति दिएन ।’ निकुञ्जको कोर एरियामा पर्नाले स्थानीय सरकारले चाहेर पनि केही गर्न सक्ने अवस्था नरहेको भन्दै निरीहता व्यक्त गर्छन् अध्यक्ष राना ।

२३ वर्षदेखि अन्धकार
२०५८ सालमा तत्कालीन शुक्लाफाँटा आरक्षको पूर्वी क्षेत्र विस्तार गर्न सेना लगाएर विस्थापित गरिएका यी परिवारहरू २३ वर्षदेखि अस्थायी जीवन बिताइरहेका छन् । उनीहरूको स्थायी ठेगाना छैन । रात परेपछि ढक्का शिविर पुरै अध्यारो हुन्छ ।

तर त्यो अन्धकार केवल प्रकाशको हैन—त्यो हो अवस्थाको, व्यवस्थाको र विस्थापनको अन्धकार । आज पनि त्यो शिविरमा एउटा मोबाइल चार्ज गर्न १० रुपैयाँ लाग्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us