
काठमाण्डू, २० वैशाख–नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिलेको संविधानलाई आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका छन् ।
शनिबार पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले पुँजीवादी संविधान भएकाले आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताएका हुन् ।
‘संविधानको धारा ३ मा हामीले एउटा महत्वपूर्ण कुरा राखेका छौं । संविधान पुँजीवादी संविधान हो । यो पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न सक्दै सक्दैनौँ । यसलाई हामी आलोचनात्मक रुपमा हेर्छौं,’ उनले भने ।
उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।
सम्मानित नेता खनालले शुक्रबार सरकारले ल्याएको नीति र कार्यक्रममा नौटंकी मात्रै रहेको बताए । ‘बोलिने कुरा मात्रै छन् त्यहाँ । तर गरिने कुराहरु बहुतै कम छन्,’ उनले भने ।
त्यसकारण बोलेकै गर्नका लागि एकीकृत समाजवादीले बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनको धारण छ ।
‘हामीले बहुमत ल्याउने प्रयत्न पनि गर्नुपर्छ । त्यसो गरेर मात्रै समस्यालाई बिस्तारै बिस्तारै समाधान गरेर अघि बढाउनसक्छौं,’ उनले भने ।
बहुमत ल्याएको अवस्थामा जनताको हितमा नीति र कार्यक्रम ल्याएर लागु गर्न सकिने उनले बताए ।
(न्युज एजेन्सी नेपाल)