सरकारले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको छः प्रभु साह

काठमाण्डु टुडे २०८२ वैशाख २० गते १७:४९ मा प्रकाशित

भैरहवा, २० वैशाख– आमजनता पार्टीका संयोजक एवं सांसद प्रभु साहले देशमा लोकतन्त्रको नाममा लुटतन्त्र र अराजकता संस्थागत बन्दै गएको आरोप लगाएका छन् ।

शनिबार भैरहवामा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकार जनताप्रति जिम्मेवार नभएको र त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए ।

प्रमुख दुई दल, एमाले र कांग्रेसको गठबन्धनमा बनेको वर्तमान सरकारबाट नागरिकले सुशासन, स्थिरता, इमानदारी तथा आर्थिक गतिशीलता जस्ता कुरामा ठूला आशा गरेकामा सरकार जनअपेक्षाको विपरीत दिशामा हिँडेको र जनताको विश्वास गुमाउँदै गएको उनले बताए ।

पूर्वमन्त्री साहले सत्तामा बसेका नेताहरूले लोकतन्त्रलाई ढाल बनाएर जनस्रोतमाथि दुरुपयोग गरिरहेको आरोप लगाए ।

उनले ठूला दलका केही नेताले देशभित्रको सम्पत्ति तानाशाही शैलीमा लुटेर त्यसलाई गैरकानूनी तवरले विदेश लैजाने काममा तल्लिन रहेको आरोप उनको थियो ।

फरक प्रसंगमा साहले देशलाई मनोमानी र भ्रष्ट शासकहरूबाट जोगाउन आफूहरु सडकमा उत्रिएको बताए ।

लोकतन्त्रका नाममा भइरहेको लुटतन्त्र अब रोकिनुपर्नेमा उनको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us