

भरतपुर, २० माघ – भरतपुरमा सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को भव्य स्वागत गरिएको छ । उनको स्वागतमा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित राजनीतिक दलका नेताहरू, सरकारी कर्मचारीहरू र सामाजिक संस्थाका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए ।
भरतपुर विमानस्थलदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणस्थल रामपुरसम्म उनीहरूलाई राष्ट्रिय झण्डा राखिएको गाडीमा यात्रा गराइएको थियो। महानगरका प्रमुख उपप्रमुख पनि उनीहरूसँगै गाडीमा थिए ।
उनीहरूको स्वागतका लागि महानगरपालिकाले तारतम्य मिलाएको थियो भने स्थानीयवासीहरू पनि स्वतःस्फुर्त उपस्थित भएका थिए ।
उनीहरूको स्वागतमा बाटोमा पानीका घडाहरू राखिएको थियो भने सामाजिक संस्थाहरू र स्थानीयवासीले ब्यानरसहित र्याली गरेका थिए । बाजागाज र भजन पनि सडकमा देखिएको थियो ।
आज रंगशाला निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको घोषणा हुनेछ भने रंगशाला निर्माणस्थलमा बोर्ड पनि राखिनेछ ।
धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।