मेलम्ची खानेपानीको पाइप फुट्दा जोरपाटी–गोकर्ण मूल सडक अवरुद्ध

काठमाण्डु टुडे २०७५ माघ १३ गते १५:१७ मा प्रकाशित

काठमाण्डु, १३ माघ – गोकर्णेश्वर नगरपालिका–४ स्थित जोरपाटी–गोकर्ण–सुन्दरीजल मूल सडकमा खानेपानीको ठूलो पाइप फुट्दा सवारी आवागमनमा बाधा पुगेको छ ।

एक साताअघि काठमाण्डु उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरण गर्ने थोक प्रणालीको पाइप बिच्छयाउँदा राम्रोसँग नपुरिएका कारण सुन्दरीजलबाट ल्याइएको वाग्मतीको पानीको पाइप फुटेको हो । काठमाण्डु उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखाका प्रमुख उमेशबाबु मरहट्ठाले आजभोलिमै काम सकी सडक बाधारहित रुपमा सञ्चालन हुने बताए ।

चारदिनदेखि शुरु भएको काम नसकिँदा आवतजावतमै समस्या भएको स्थानीयवासीको गुनासो छ । साँघुरो सडकमा पाइप फेर्ने काम गरिँदा सवारी घण्टौँ जाममा पर्ने गरेका छन् । गोकर्णेश्वर महादेव मन्दिर र भगवतीस्थान मन्दिरअघिको साँघुरो सडकमा पाइप फुटेकाले सुन्दरीजल, सुन्ताखान, पाखाथोक, नाम्गेललगायत स्थानबाट रत्नपार्क र रत्नपार्कबाट त्यसतर्फ जाने सवारीको आवागमनमा समस्या भएको स्थानीयवासी श्यामकृष्ण श्रेष्ठले गुनासो गरे ।

नगरपालिकाको वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले लिमिटेडसँग समन्वय गरी आजभोलिमै काम सक्न लागिएको बताए । विसं २०५२ मा हाजमा कम्पनीले राखेको ठूलो पाइप निर्देशनालयले राखेको नयाँ पाइपका कारण फुटेको हो । सो पाइपबाट लिमिटेडको महाँकालचौर शाखास्थित पानीपोखरीमा पानी खसाली प्रशोधन गरेर उपत्यकामा वितरण हुने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us