जनप्रतिनिधि हुन त म्याग्दीका जस्ता !

–धु्र्वसागर शर्मा २०७५ माघ ७ गते १०:४० मा प्रकाशित

गलेश्वर, ७ माघ – विलासी साधन र सुविधाको दुरुपयोगका कारण आलोचित बन्दै गएका जनप्रतिनिधिका बीच म्याग्दीका तीन जनप्रतिनिधिले आफूले पाएको सुविधा पनि जनताको सेवाका लागि खर्च गरेर उदाहरणीय बनेका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफूले पाउने सुविधा जनताको सेवाका लागि खर्च गर्ने गरेका हुन् ।

यी तीनजना जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाएको रकमका साथै व्यक्तिगतरुपबाट समेत लाखौँ रुपैयाँ खर्च गरेर आफ्नो गाउँपालिकाभित्रका विद्यालय, सडक, असहाय बालबालिका, गरीब, विपन्न, शारीरिकरुपमा अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धालाई सहयोग गरेर सबैको मन जित्न सफल भएका छन् ।

तत्कालीन नेकपा एमालेबाट निर्वाचित मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले गाउँपालिकाकै दुर्गम क्षेत्रमा पर्ने वडा नं ५ सिर्कुमको किसानी आधारभूत विद्यालयलाई भवन निर्माणका लागि जग्गा किन्दा लागेको रु तीन लाख ५० हजार ऋण तिरिदिए । त्यसका साथै जन्म दिएकी आमाले छोडेर अर्को विवाह गरेपछि असहाय बनेका हिदीका तीन जना बालबालिकाको माध्यमिक तहसम्मको शिक्षाको जिम्मासमेत लिए । आमाले छोडेर गएपछि असहाय बनेका हिदीका रेखा किसान, कर्ण किसान र बेलबहादुर किसानका शैक्षिक अभिभावक बन्नुभएका रोकाले उनीहरुलाई मासिकरुपमा प्रतिव्यक्ति पाँच हजार गरी १५ हजार खर्च व्यहोर्दै आएका हिदीका रामबहादुर किसानले जानकारी दिए ।

त्यसैगरी नेपाली काङ्ग्रेसबाट निर्वाचित रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले व्यक्तिगत रु ४० लाखभन्दा बढीको लगानीमा गाउँपालिकाभित्रका विभिन्न ठाउँमा सडक निर्माण गरेर उदाहरणीय बनेका छन् । निर्वाचनताका आफूले जनतासँग गरेका प्रतिबद्धता सरकारी रकमबाट मात्र पूरा हुने सम्भावना नभएपछि आफ्नो व्यक्तिगत लगानीमा आफूले गरेका प्रतिबद्धता यो २२ महीनाको अवधिमा पूरा गरेको उनको भनाइ रहेको छ ।

भण्डारीले आफ्नो व्यक्तिगत लगानीमा विकास निर्माणका काम गर्नुका साथै मानवीय सहयोगका क्षेत्रमा पनि धेरै सहयोग गरेका स्थानीयले बताएका छन् । आफूले पाउने पारिश्रमिकबाट गाउँपालिकाभित्रका गरीब, असक्त, असहाय, बालबालिका र वृद्धवृद्धाका लागि आवश्यक सहयोग गरेर भण्डारीले सबैको मन जित्न सफल भएका छन् ।

त्यसैगरी जिल्लाको उत्तरी क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले गाउँपालिकाको शैक्षिक र सूचना प्रविधिका क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गर्ने गरेका छन् ।

गाउँपालिकाको अध्यक्ष भएबापत आफूले पाउने पारिश्रमिक एक रुपैयाँ पनि आफ्नो निजी खर्चका लागि प्रयोग नगर्ने सङ्कल्प गर्नुभएका अध्यक्ष पुनले अक्षयकोष नै स्थापना गरेर गाउँपालकाभित्रका विद्यालयको गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण, बालशिक्षा पढाउने शिक्षिकाको तलब, टेली एजुकेशन, सूचना प्रविधि र गरीब तथा असहाय बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गरेको गाउँपालिकाको वडा नं ६ घारका वडाध्यक्ष कृष्णबहादुर बरुवालले बताए । पुनः पनि काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

गरीब र अपाङ्गता भएका ५० को स्वास्थ्य बीमा

यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले ५० गरीब तथा अपाङ्गता भएका व्यक्तिको आफ्नै खर्चमा स्वास्थ्य बीमा गरिदिएका छन् ।

अध्यक्ष भण्डारीले रघुगङ्गा गाउँपालिकाका–५ झीँ र ६ पाखापानीका आर्थिक अभावका कारण उपचारसम्म पनि गराउन नसक्ने १० घरका ५० गरीब र अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गराई दिएका हुन् ।

आफूले पाएको सरकारी सेवा सुविधाबापत प्राप्त रकमको अध्यक्ष भण्डारीले अक्षयकोष स्थापना गरेका छन् । सो अक्षयकोषको रकमबाट गाउँपालिकाभित्रका गरीब, असहाय र अशक्तका लागि आवश्यक सुविधा उपलब्ध गराउने अध्यक्ष भण्डारीले बताए ।

एउटा वडामा पाँच गरीब वा अपाङ्गता भएको परिवारलाई छनोट गरी ती परिवारको स्वास्थ्य बीमा गरिदिने भण्डारीले जानकारी दिए । ‘मैले पाउने सेवा सुविधाको रकमबाट अक्षयकोष स्थापना गरेको छु’, उनले भने, ‘त्यसैबाट एउटा वडाका पाँच परिवारलाई स्वास्थ्य बीमा गरिदिने निर्णय गरेको हुँ ।’ अहिलेसम्म ५० व्यक्तिको स्वास्थ्य बीमा गरिदिएको भण्डारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us