रमेश खरेलको फाइलले गृहमा खैलाबैला, खरेललाई अमेरिकाबाट किन आयो निम्ता ?

काठमाण्डु टुडे २०७१ पुष १५ गते ३:३५ मा प्रकाशित

ramesh Kharelकाठमाण्डु, १५ पुस– सानो काम गर्दा पनि ठूलो समाचार बन्ने प्रहरी अधिकृत हुन, एसएसपी रमेश खरेल । र, बेलाबेला विवादमा पनि परिरहन्छन् । एआईजी बढुवामा आर्थिक चलखेल भएको भन्दै सार्वजनिक रुपमा भाषण गरेर विवादमा तानिएका उनी त्यसयता छायाँमै छन् ।

सेलिब्रेटी प्रहरी अधिकृत खरेलले बोलेको घटनाबारे छानबिन समिति गठन गरी कारबाहीको तयारी भए पनि पछि उनी कारबाही रोक्न सफल भएका थिए । सोही प्रकरणमा काठमाण्डु प्रहरी परिसरबाट हटाइएका उनी पछिल्लो समय भरतपुर तालिम केन्द्रमा कार्यरत छन् ।

उनै एसएसपी खरेलको एउटा फाइलका कारण गृहमन्त्रालयमा गत साता केही तनाव भयो । खरेललाई एक संस्थाले अमेरिकामा निम्तो दिएको छ । विश्वका सफल युवाहरुको सम्मेलनमा सहभागी हुन खरेललाई जनवरीको तेस्रो साता बोलाइएको छ ।

उक्त कार्यक्रममा जाने अनुमतिका लागि खरेलले निवेदन दिएका थिए । उनलाई अनुमति दिने कि नदिने भन्नेमा गृहका अधिकारीहरुबीच विवाद भएको छ ।
गृहसचिव सूर्य सिलवालसमेत सो विषयमा निर्णय गर्न डराए । खरेललाई स्वीकृति दिँदा गृहमन्त्री बामदेव गौतम रिसाउन सक्ने चिन्ता उनलाई रहेको थियो । किनभने, बेलाबेला मन्त्री गौतम र एसएसपी खरेलबीच सार्वजनिक रुपमा जुहारी चल्दै आएको छ ।

खरेलले आफूलाई भेट्नसमेत नआएको भनेर गौतमले गुनासो गर्दा त्यसको पत्युत्तरमा भेट्न आवश्यक नभएको भन्दै अन्तर्वार्ता दिएका थिए ।

दुई साताअघि अपराध दिवस मनाउने कार्यक्रममा पनि गौतमले मिडियामा बोल्दा प्रहरी अधिकारीहरुसँग जुहारी चल्ने गरेको भन्दै उनले आफू बोल्न छाडेको बताएका थिए ।

तर, अमेरिका जानलाई भने मन्त्री गौतमले रोक्न चाहेनन् । सामान्य किसिमको विषय भएपछि खरेलको अमेरिका भ्रमण मन्त्रीस्तरबाट निर्णय भएको स्रोतले बताएको छ ।
दृष्टि साप्ताहिकबाट

र यो पनि पढ्औ

कसरी रमेश खरेलकै लाइनमा आए प्रधानमन्त्री ?

रमेश खरेल भन्छन्, ‘प्रहरीमा नराम्राहरुको बहुमत छ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us