
काठमाण्डु, १३ पुस– भावी संविधानका अन्तरवस्तुमा सहमति खोज्न भन्दै गठित चार दलीय कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने भएको छ ।
शीर्ष तहमा कुरा मिल्न नसकेपछि विवादित विषयमा सहमति खोज्न भन्दै कार्यदल गठन गरिएको थियो ।
सहमति जुटाउन दुई दिनको समय पाएको कार्यदलको अवधि शनिबारै सकिए पनि अन्तिमपटक प्रयास गर्ने भन्दै आज कार्यदलको बैठक बोलाइएको छ ।
त्यसअघि कार्यदलमा भएको छलफलबारे आ–आफ्ना दलका शीर्ष नेतालाई जानकारी गराइने सदभावना सह–अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनले कार्यदलले प्रतिवेदन बुझाएलगत्तै आजै शीर्ष नेतृत्व तहमा त्यसबारे छलफल हुने बताए ।
संविधान जारी गर्ने समयसीमा सकिन तीन मात्र बाँकी रहेका बेला दलहरुबीच राज्यपुनर्सरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा कुरा मिल्न सकेको छैन ।
कार्यदलमा समेत सदस्यहरुले आ–आफ्ना दलीय अडान दोहोर्याएका छन् ।