
काठमाण्डु, १३ पुस– राजनीतिक दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम चीनका विदेशमन्त्री वाङ यीले अन्तिम समयमा रद्द गरे ।
उच्च स्रोतका अनुसार संविधान निर्माणमा क्रियाशील नेताहरूलाई छुट्टाछुट्टै भेट्दा नकारात्मक सन्देश प्रवाह हुनसक्नेमा सचेत हुँदै विदेशमन्त्री वाङले नेताहरूलाई भेट्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका हुन् । तीनदिने नेपाल भ्रमणमा आएका वाङ शनिबार ढाका प्रस्थान गरे ।
‘सबै नेतालाई सामूहिक रूपमा चीनको विदेश नीति प्रस्ट्याएपछि नेपालको संवेदनशील राजनीतिक अवस्थामा नेताहरूलाई छुट्टाछुट्टै भेट्दा सम्भावित राजनीतिक परिणामको दोष आफूले बोक्न नचाहेको हुनसक्छ’, परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।
थोरै प्रदेशसहितको संघीयता र धार्मिक सहिष्णुताका पक्षमा मत जाहेर गर्दै आएको चीनका विदेशमन्त्री वाङले दूतावासले शुक्रबार आयोजना गरेको रात्रिभोजमा सबै दलका नेताहरूलाई सामूहिक रूपमा सम्बोधन गर्दै संविधानका लागि सहमतिका आधार खोज्न सुझाव दिएका थिए ।
नेपाललाई शान्त, स्थिर र एकताबद्ध बनाउने संविधान निर्माण गर्न सुझाव दिएका विदेशमन्त्री वाङ यीले रात्रिभोजकै क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता झलनाथ खनालसँग संक्षिप्त कुराकानी गरेका थिए ।
अन्नपूर्ण पोष्टमा रेवती सापकोटा लेख्छन्, चिनियाँ दूतावासले एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङङ र मधेस केन्द्रित केही दलका नेताहरूसँग पनि वाङले छुट्टै भेटवार्ता गर्ने कार्यक्रम बनाएको थियो । ती नेताहरूलाई विदेशमन्त्री वाङसँग भेटवार्ताका लागि तयार रहन टेलिफोनबाट दूतावासले खबरसमेत गरेको थियो ।