
सिरहा, ६ पुस–पेट्रोलियम पदार्थको मूल्य घटेपछि सिरहा जिल्लामा पेट्रोलको अभाव सिर्जना भएको छ । व्यवसायीले आ–आफ्नो पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखेर बिक्री बन्द गरेका छन् । व्यवसायीहरु पेट्रोल लुकाएर ‘छैन’ भनिरहेको खुलेको छ ।
लहानस्थित बजरङ्ग तेल बिक्री केन्द्र, शारदा आयल स्टोर्स, पडरियास्थित फूलबारी आयल स्टोर्स, छपराडीस्थित उग्रचण्डी तेल बिक्री केन्द्रलगायतका सिरहाका सबै पेट्रोल पम्प बन्द छन् । पेट्रोल नपाउँदा जनता मर्कामा परेका छन् ।
उपभोक्ता दिलीप दासले पेट्रोल नपाएर समस्यामा परेको भन्दै, पेट्रोल कुनै पनि पम्पले नदिएपछि घरसमेत जान नपाएको बताए ।
उनले भने, ‘घर जाँदै थिएँ, लहानमा पेट्रोल नपाएपछि बाटोमा भेटिहाल्छ भनेर निस्केँ, करिब पाँच किलोमिटर नजाँदै मोटरसाइकलमा तेल सकियो, गुडाएर छपराडी लगेँ, त्यहाँ पनि नभेटेपछि गाडी नचिनेकै घरमा राखेर लहान फर्केको छु ।’
नेपाल आयल निगमले शुक्रबार साँझ पेट्रोलमा सात र डिजेलमा सात रुपैयाँ ५० पैसा घटाएको थियो । मूल्य घटेपछि पेट्रोल एक सय १६ र डिजेल ९० रुपैयाँ ५० पैसामा बिक्री गर्नुपर्ने हो । तर मूल्य घटेपछि व्यवसायीले पेट्रोल र डिजेलको अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेका छन् ।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी मो अब्दुल कलाम खाँले पेट्रोलपम्प बन्द रहेको कुरा आफूलाई थाहा नभएको बताउदै उनले भन, ‘पेट्रोल छ भने बेच्नुपर्ने हुन्छ , खै के हो म बुझ्न लगाउँछु ।’ रासस