उपकुलपतिकै हस्ताक्षर कीर्ते !

काठमाण्डु टुडे २०७१ पुष ३ गते २:२७ मा प्रकाशित

काभ्रे, ३ पुस– गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वविद्यालयको रुपमा परिचय बनाउन सफल काठमाडौं विश्वविद्ययालयका उपकुलपतिको हस्ताक्षर र विश्वविद्यालयको छाप कीर्ते भएको खुलासा भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर रामकण्ठ माकजू श्रेष्ठको हस्ताक्षर र विश्वविद्यालयको दुरुस्तै छाप बनाई कीर्ते गरी केही व्यक्तिहरु विश्वविद्यालयको विद्यार्थी भन्दै विदेश जाने तयारी गरेपछि यो रहस्य बाहिर आएको हो ।

फ्रान्समा हुने रिसर्च एसोसिएसनको लागि १३ औं इन्टरनेसनल सम्मेलनमा भाग लिन जाने भन्दै ६ जनाले उपकुलपति माकजू र विश्वविद्यालयको छाप कीर्ते बनाई भिसा माग गरेका थिए । सम्मेलनमा भाग लिनका लागि विश्वविद्यालयको विद्यार्थी भन्दै रामचन्द्र गोदार, डेबिड गुरुङ, कैलाश गरुङ, पुनम बानियाँ, विक्रम पौडेल र सुवास ढकालले भिसा माग गरेका थिए ।

उनीहरुले भारतमा रहेको फ्रान्सको दूतावासमार्फत भिसा माग गरेको पाइएको छ । उनीहरुले भिसाको माग गरेपछि दूतावासले भिसा दिन विश्वविद्यालयका विद्यार्थी हो वा होइन भनेर काठमाडौं विश्वविद्यालयमा पत्राचार गरेपछि मात्रै रहस्य बाहिर आएको हो ।

कीर्ते गरी भिसा माग गर्ने ६ जना विश्वविद्यालयका विद्यार्थी नभएको भन्दै विश्वविद्यालयका रजिष्ट्रार डाक्टर भोला थापाले कीर्तेमा संलग्न ६ जनालाई आवश्यक कारबाही माग गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा उजुरी दिएका छन् ।

अन्नपूर्णपोस्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us