सफ्टवेयरबाटै रोकिन थाल्यो विद्यालयमा अनियमितता

काठमाण्डु टुडे २०७१ पुष २ गते ८:२१ मा प्रकाशित

इलाम, २ पुस–विद्यार्थी छली र अनियमितता रोक्न जिल्ला शिक्षा कार्यालय इलामले विद्यालयमा एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम सफ्टवेयर लागू गरेको छ ।

index

विद्यालयहरूले फर्जी विद्यार्थीको लगत भरेर फ्लास वान र फ्लास टू बुझाउने गरेकाले यस्ता अनियमिता रोक्न उक्त प्रणाली लागू गरिएको शिक्षा कार्यालयले जनाएको छ ।

विद्यालयमा हुने अन्य किसिमका अनियमितता रोक्नसमेत सफ्टवेयर प्रभावकारी हुने बताइएको छ । प्राथमिक, निम्न माध्यामिक, माध्यामिक तथा उच्चमाध्यामिक गरेर ४३९ विद्यालयमध्ये २७४ वटा विद्यालयले उक्त कम्प्युटरमा सफ्टवेयरको प्रयोग गरेर तथ्याङ्क चुस्त र दुरुस्त बनाएका हुन् ।

सफ्टवेयरमा फ्लास वान र फ्लास टू, शिक्षक विवरण, भौतिक र विषयगत र विद्यालयमा हुने सम्पूर्ण गतिविधि समावेश गरिन्छ । “सफ्टवेयरमा एउटा विवरण पनि छुटाउन हुँदैन्, विवरण हाल्न छुट्दासमेत सफ्टवेयरले काम नगर्न सक्छ”–जिशिकाका सफ्टवेयर सहजकर्ता कुमार निरौलाले बताए । सबै विद्यालयमा सफ्टवेयर लागू गर्नुपर्छ भन्ने जिशिकाको अभियानअन्तर्गत सफ्टवेयर विकास गरिएको हो ।

उक्त सफ्टवेयर लागू नगर्ने विद्यालय सूचना प्रविधि र शैक्षिक विकासमा पछि पर्ने जिशिकाले जनाएको छ । विद्यालयमा हुने आर्थिक कारोबारलाई पारदर्शी बनाउने अभियानअन्तर्गत सफ्टवेयर प्रणाली लागू गरिएको जिल्ला शिक्षा अधिकारी टङ्कप्रसाद गौतमले बताए ।

सफ्टवेयरमा विद्यार्थीको सबै विवरण हालिसकेपछि त्यहीँबाट प्रमाणपत्र निकाल्न मिल्ने सहजकर्ता निरौलाले बताए । उक्त प्रणाली लागू भइसकेपछि जिल्लाको जुनसुकै विद्यालयको विवरण चाहिएको बेलामा तत्काल जिल्लाबाटै हेर्न सकिन्छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us