सदाचारको पगरी कि भ्रष्टाचारको श्रीपेच ?

काठमाण्डु टुडे २०७१ पुष २ गते ६:५४ मा प्रकाशित

प्रधानमन्त्री सुशील कोइराला आफूलाई ‘राजनीतिक जोगी’का रुपमा चित्रण गर्न मन पराउँछन् । उसो त केही काँग्रेसजनले उनलाई ‘सदाचारी’ विशेषणको पगरी पनि लाइदिएका छन् । सम्पत्ति विवरणको फारम अन्तर्गत जिन्सी महलमा जम्मा तीन वटा मोबाइल मात्र भरेर धेरैजसो महल खाली नै छाडेपछि उनलाई ‘गरिब’को पगरी लगाइदिने पनि भेटिए । उनको गरिबीको मूल्य के हो भन्नेबारे अहिले कुरा नगरौं, कुनै समय चिरिच्याँट्ट भएर हिँड्ने कोइराला जवानीमा हलिउडको हिरो पनि बन्न चाहन्थे । तर सायद ‘गरिबी’को मारले उनलाई ‘राजनीतिक जोगी’मा परिणत गरिदियो ।

Yug Pathak 1

उनको त्याग र तपस्याका कुरा धेरै हुनसक्छन् । वृद्ध उमेरमा कोइराला वंशको उत्तराधिकारस्वरुप काँग्रेस सम्हाल्नु चानचुने तपस्याले प्राप्त हुने जिम्मेवारी होइन । काँग्रेसमा अरु कोइराला नभएका हुन् र ? खैर, काँग्रेसको विरासत सम्हाल्ने जिम्मा उनकै काँधमा आयो । त्यतिले नपुगेर एकसेएक युवाले भरिएको संसदले यो उमेरमा उनैलाई प्रधानमन्त्रीको कुर्सी पनि जिम्मा लगायो । रोगसित लड्नु त छँदै छ, उनलाई देशका समस्यासँग पनि लड्नु छ । धन्न, प्रतिपक्षी सुवानी छ । उसलाई सरकारले के गर्छ के गर्दैन भन्नेतिर खासै टन्टा छैन । त्यसैले बालुवाटारबाटै देश चलाउन उनलाई हम्मे परेन ।
चुइँक्क समेत नबोलेर विपक्षीले साथ दिएपछि, भ्रष्टाचार मन्त्रालयका फाइल फाइल चढेर उफ्रने मुसा झैं स्वतन्त्र भयो । विद्रोह, जनआन्दोलनको रापतापमा जनता अलि बलियो भएको बेला पो डर, अब जब मन्त्रालयहरु सबै डरबाट मुक्त छन् त भ्रष्टाचारको पुरानो मुसा बाहिर निस्केर उफ्रन थाल्नु कुन अनौठो भो र ? दिन फर्किएपछि पनि फर्याकफुरुक गर्न नपाउनु ? प्रधानमन्त्रीका आफ्नै टेन्सन हुन्छन्, ‘सदाचारी’को पगरी बचाइराख्न कम मुस्किल छ ?
देश त ‘पशुपतिनाथ’ले चलाउने परम्परा छ । चलिहाल्छ, उनले धेरै चिन्ता गरिरहनु पर्दैन । तर उनलाई ‘सदाचारी’ र ‘गरिब’ भैरहन चाहिँ गाह्रो भयो प्रधानमन्त्री हुनुको टन्टाले । पुगनपुग डेढ करोड ‘आर्थिक सहायता’ लिएर उनले आफ्नो उपचारमा लगानी गरे । अर्कोपटक संयुक्त राष्टसंघको महासभामा भाग लिन जाने मेलोमा लगभग दुई करोड देशकै निमित्त खर्च हुँदा हल्का ‘उपचार’ पनि भैहाल्यो । त्यसो त सरकारका पार्टनर केपी ओलीलाई पनि करिब डेढ करोड ‘उपचार खर्च’ दिलाएर गरिब हुनुको महिमा बाँड्न खोजेका पनि छन् । अरु केही करोड आफ्ना पार्टीका भातृसंगठन र कार्यकर्तालाई दिलाए त उनले के बिराए ?
तैपनि उनी ‘सदाचारी’ नै छन् । उहिले हजार जिब्रा भएका शेषनाग हुन्थे, आजकल सरकारसँग प्रसन्न जिब्राहरु हजारभन्दा कति कति धेरै छन् । त्यसैले आफ्ना मन्त्रीहरु भ्रष्ट हुँदा पनि उनी ‘सदाचारी’ नै कहलाउँछन् । ‘सदाचारी’ हुनुको प्रतापले नै उनी मन्त्रीहरु भ्रष्ट भएको स्विकार गर्छन्, भ्रष्टाचारको पारो चढेको पनि आत्मसात गर्छन् । पुस १ गते दीक्षान्त हुँदै गरेका डाक्टरहरुका अघिल्तिर ट्रान्सपरेन्सी इन्टरनेसनलले भ्रष्टाचार बढेको भनेर देशकै बदनाम गरेकोमा उनले दुःख व्यक्त गरे । पार्टीको बैठकमा पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकेको स्विकार गरेर उनले सदाचारिताको परिचय दिए ।

Sushil Koirala
केही केही कुरा जिन्दगीमा गडबड भइरहन्छ त उनले के गरुन् ! देशको जिन्दगीमा पनि यस्तो भई नै हाल्छ । आर्थिक सूचकहरु गडबड भइदिन्छन् । विकास खर्च गर्ने सरकारी क्षमतामा ह्रास आएको सूचकले देखाइदिन्छ । विकास खर्च गर्न नसके पनि साधरण खर्चका नाममा सरकारी ढुकुटीको भक्कुमार प्रयोग त भइरहेकै छ । पाँच वर्ष अघि लगभग ३२ अर्ब रुपैयाँ राजस्व बक्यौता थियो, अहिले बढेर ९३ अर्ब पुग्यो । उनकै पालामा त त्यस्तै २० अर्ब बक्यौता बढेको न हो । धनीहरु खुसी नै छन्, सरकारप्रति ह्वात्तै बढेको उत्साहका कारण कर तिर्न ढिला गरेका होलान् । यसरी पनि त हेर्नु पर्यो नि । नीजि क्षेत्र र धनवानहरु खुसी नभए देशको विकास हुँदैन भनेर अर्थमन्त्री डा. रामशरण महतले भनेको त मान्नैप¥यो । आखिर अर्थतन्त्रका विज्ञ उनै छन् यो देशमा । महालेखा भन्छ, अनियमित रकम ह्वात्तै बढ्यो रे । भ्रष्टाचार बढ्नु, अनियमित रकम बढ्नु, बेरुजु बढ्नु, करको बक्यौता बढ्नु, सबै चिज बढिरहेकै छ भन्ने दृष्टिकोणबाट पनि त हेर्नुपर्यो नि डेमोक्रेसीमा ।
प्रधानमन्त्री कोइरालाकै पालामा सार्क सम्मेलन भयो । अब यसको दोष पनि उनैलाई दिन त मिलेन नि । समयको खेल हो, उनकै पालामा त्यत्रो गौरवशाली सम्मेलन भयो । मोदी आए । अन्तर्राष्ट्रिय सम्मेलन नै गरेपछि खर्च त भइहाल्छ । अनलाइनखबर भन्ने बिजुली–अखबारले त्यसमा पनि खोटै निकाल्यो । दुई–दुई अर्ब रुपैयाँ खर्च भएको छ, सय–पचास करोड ‘भैपरी’ शीर्षकबाट नगरेर कसरी शीर्षक मिलाउने त ? श्रीपेच त संग्राहालयमा थन्किएको ६ वर्ष हुन लागिसक्यो । उनका नजिककै मान्छे भन्छन्– सरकारको टाउकोमा भ्रष्टाचारको श्रीपेच झल्किन लाग्यो । ‘सदाचारी’ भैसकेको हुनाले प्रधानमन्त्रीकै टाउकोमा यो श्रीपेच सुहाउँदैन । तर श्रीपेच त दिनहुँ झन्झन् ठूलो हुने अद्भूत लक्षण छ । ‘सदाचार’को पगरीभन्दा भ्रष्टाचारको श्रीपेच अग्लो भयो भने ?

सहमतिको रुमाल र बालुवाको तेल

कमरेडहरूका अनुहारका कुरुप दाग

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us