पाकिस्तानी आक्रमणको अफगानी तालिवानद्वारा आलोचना

काठमाण्डु टुडे २०७१ पुष २ गते ५:१४ मा प्रकाशित

काठमाण्डु, २ पुस– पाकिस्तानको पेशावरमा मंगलबार भएको आक्रमणलाई अफगानी तालिबान नेतृत्वले कडा शब्दमा आलोचना गरेको छ । मंगलबार पाकिस्तानको एक सैनिक विद्यालयमा पाकिस्तानी तालिबानीहरुले आक्रमण गर्दा १३२ स्कुले बच्चासहित १४० भन्दा बढीको ज्यान गएको थियो ।

peshawar_school_attack
अफगानी तालिबानले पाकिस्तानको आक्रमणलाई गैर इस्लामी भन्दै आलोचना गरेको बिबिसीले जनाएको छ । अफगानी तालिबानका प्रवक्ता जहीबुल्लाह मुजाहिदले पेशावरको आक्रमणमा मारिएका बच्चाका आफन्तहरुप्रति समवेदना समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘निर्दोष बच्चा र महिलाहरुको हत्या गर्नु गैरइस्लामी र अमानवीय कार्य हो । हरेक व्यक्तिले यसको ख्याल गर्नु जरुरी छ ।’
पाकिस्तानका तहरिक ए तालिबान नामक संगठनले भने उक्त आक्रमणको जिम्मेवारी लिँदै ‘त्यो सही भएको’ चर्चा गरेको छ । आक्रमणलाई सही भन्दै प्रवक्ता मोहम्मद खुरासानीले यो आक्रमणलाई पाकिस्तानी सेनाले उत्तरी वजीरिस्तान र खैबर प्रान्तमा गरेको कारवाहीको विरोध स्वरुप भएको जनाएका छन् ।
उनले पछिल्लो एक वर्षमा मात्रै उनको समूहका ६ सय व्यक्तिहरु सरकारले मारेको दाबी गरेका छन् ।
यसैबीच आक्रमणको विश्वभरिबाट आलोचना र निन्दा भइरहेको छ । आक्रमणमा ७ जना आक्रमणकारी समेत मारिएका थिए ।
कयौं घण्टासम्म निरन्तर आक्रमण चलेको र पछि पाकिस्तानी सेनाले जवाफी कारवाही गरेको थियो । पाकिस्तानमा तीन दिनको शोक घोषणा गरिएको छ । भारतमा पनि उक्त आक्रमणको विरोधमा सम्पूर्ण स्कुलमा दुई मिनेट मौन धारण गर्ने घोषणा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us