काठमाण्डु, १ पुस–शनिबारदेखि मौसममा देखिएको परिवर्तनले काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ ।
देशका अधिकांश पहाडी क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभाव र अरेब सागरमा आएको परिवर्तित मौसम प्रणालीका कारण वर्षा र हिमपात भएको महाशाखाले जनाएको छ । वर्षा र हिमपातले गर्दा तापक्रम निकै न्यूनबिन्दुमा पुगेको मौसमविद्ले बताएका छन् ।
महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार आज पश्चिमी क्षेत्रका केही भाग र काठमाडौँमा हल्का पानी परे पनि दिउँसोदेखि घाम लाग्ने छ । घाम लागे पनि चिसो भने कम नहुने मौसमविद्ले कँडेलले बताइन् । बुधबारदेखि झनै चिसो बढ्ने अनुमान महाशाखाले गरेको छ ।
भारतको उत्तर प्रदेशमा भएको न्यूनचापीय प्रणाली र पश्चिमी वायु विस्तारै कमजोर बन्दै गएकाले मंगलबार दिउँसोदेखि भने मौसममा सुधार आउने मौसमविद् कँडेलले जानकारी दिइन् । रासस