
एजेन्सी–अफगान राष्ट्रिय सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध गत २४ घण्टासम्म जारी राखेको कारबाहीको क्रममा २२ तालिवानको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयले सोमबार सो जानकारी दिएको छ ।
अफगानिस्तानको राष्ट्रिय प्रहरी, सैनिक र गुप्तचर निकायको पनि सहभागितामा गजनी, खोस्त, सारी पुल, बादख्सान नानर्गाहार, कान्दाहार र फर्याब, प्रान्तहरु जारी सो कारबाहीको क्रममा २२ जना सशस्त्र तालिवान बिद्रोाहीको मृत्यु भएको जनाइएको छ ।
यसै कारबाहीको क्रममा अन्य २८ तालिवान घाइते हुनुको साथै एक पक्राउ परेका जनाइएको छ । यस कारबाहीको क्रममा सुरक्षाबलले भारी मात्रामा हातहतियार कब्जा गरेको र यस क्रममा सुरक्षाबलतर्फ भने हताहतीको कुनै समाचार नभएको बताइएको छ ।
यस महिना अफगानिस्तानमा रहेका नेटोसँग आबद्ध प्रायः सैनिक फर्किसक्ने नेटोआबद्ध सबै देशहरूले निर्णय गरिसकेका छन् । सो समयपछि अफगानिस्तानको भविष्यका बारेमा चिन्ता व्यक्त गरिन थालेको छ ।
आगामी डिसेम्बर ३१ बाट नेटो सैनिकले आफ्नो लडाकूको भूमिकालाई परिवर्तन गरी सहयोगको भूमिका निभाउने भएको छ ।
त्यसैगरी अफगानिस्तानमा तालिवान बिद्रोहीसँगको लडाइँमा सन् २०१० मा एक लाख ३० हजार सैनिक रहेकामा सो सङ्ख्या झरेर १२ हजार ५०० मा आउने भएको छ ।
सन् २०१५ बाट नेटो आबद्ध १२ हजार ५०० सैनिक मात्र अफगानिस्तानमा बाँकी रहने भएका छन् । ती नेटो सैनिकले पनि अफगान सैनिकलाई तालिम, सल्लाह जस्ता कार्यमा मात्र सहयोग गर्ने छ ।