
काठमाण्डु, २९ मंसिर– संविधान सभामा संवाद समितिले प्रस्तुत गरेको प्रतिवेदनमाथिको छलफलमा कांग्रेस–एमालेका सभासद्ले हुटिङ र हो–हल्ला गरेका छन् ।
संवैधानिक तथा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईद्वारा प्रस्तुत प्रतिवेदनमाथि बोल्ने क्रममा सत्ता पक्षकै सभासद्बाट हुटिङ भएकोमा सभापति भट्टराईले ‘अरिंगालको गोलोमा ढुंगो हान्ने काम’ भनेका छन् । भट्टराईले आजै ट्वीटमा भनेका छन्, ‘आजको संविधानसभा वैठकमा सत्तापक्षले नै हूटिंग गरेर अरिंगालको गोलोमा ढुंगो हान्ने काम गर्नुले आगामी दिनमा अरु गम्भीर कुराको संकेत गरेको त हैन ?’
संविधान सभामा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संसदीय प्रणालीकै बचाउ गरेका थिए भने एमाले उपाध्यक्ष भीम रावलले सात प्रदेशकै अवधारणामा जोड दिएका थिए ।
शान्ति प्रक्रिया र विगतका सहमतिले आत्मसात् गरेको प्रक्रियाका आधारमा नै सहमतिको कुरा गरिएको भए पनि सहमति नै नभएको अवस्थामा भने प्रक्रियाका आधारमा संविधान जारी गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।
एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले सत्तापक्षले मुलुकलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउँदै अल्पमतलाई दोष लगाएर उम्कने दाउमा सत्तापक्ष लागेको धारणा व्यक्त गरे । विगतमा भएका आन्दोलनको निष्कर्षमा अन्तरिम संविधान बनेकाले संविधानमा सबैको भावना स्वीकार गरिनुपर्नेमा जोड दिँदै उनले संवाद समितिको प्रतिवेदनलाई कसरी टुङ्गो लगाउने भन्नेमा नै छलफल गरिनुपर्ने बताए ।
संवाद समितिको प्रतिवेदन संविधानसभामा जानकारीका लागि आएको तर्क गर्दै उनले उक्त प्रतिवेदन प्रक्रियामा प्रवेश गर्नका लागि नआएको उल्लेख गरे ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमतिको प्रक्रियामा आफ्नो दललाई पनि सहभागि गराउन माग गरे । धर्मनिरपेक्षता, गणतन्त्रजस्ता संविधानका अन्तरवस्तुमा सहमति कायम गर्न आफ्नो दल लचिलो रहेको तथा असहमतिका अन्य विषयको निरुपणका लागि जनमतमाझ जानुपर्ने धारणा राखे ।