
एजेन्सी–इन्डोनेसियाको जाभा द्वीपको मध्य भागमा पर्ने बाङ्जानेगारा जिल्लामा गत शुक्रबार गएको पहिरोमा परी मर्ने व्यक्तिको सङ्ख्या २० पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
अबिरल वर्षापछि शुक्रबार अबेर राति गएको पहिरोमा परी २० व्यक्तिको मृत्यु भएको थियो । अन्य ८० भन्दा बढी व्यक्ति हराइरहेका राष्ट्रिय प्रकोप व्यवस्थान निकायका प्रवक्ता सुतोपो पुर्वो नुङ्रोहोले बताए ।
जाभा द्वीपको जेमब्लुङ्ग गाउँमा गएको यस पहिरोबाट बालबालिकासहित १२ घरपरिवारका व्यक्तिहरु पुरिएका नुङ्रोहोले एएफपी समाचार समितिलाई बताए ।
नुङ्रोहोका अनुसार पहाडी इलाकामा पर्ने यस इलाकामा यस पहिरोमा २४ घण्टा पछाडीसम्ममा २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ८८ जना अझै बेपत्ता रहेका छन् ।
यस प्रकोपको क्रममा १५ जना व्यक्तिहरु गम्भीर घाइते भएका र ती मध्ये अन्य ११ जना अवस्था गम्भीर रहेको जनाइएको छ । पहिरो प्रभावित यस क्षेत्रबाट ५७७ व्यक्तिलाई अस्थाई शरणार्थी स्थलमा विस्थापित गरिएको बताइएको छ ।