मध्यरातमा काठमाण्डुमा देखिएका १२ दृश्य

काठमाण्डु टुडे २०७१ मंसिर २३ गते ११:५५ मा प्रकाशित

काठमाण्डु सहर दिनमा अत्यन्तै व्यस्त रहन्छ । गाडीको लस्कर, कोलाहल आवाज र प्रदूषण काठमाण्डुको नियती बनिसकेको छ । जबजब रात पर्दै जान्छ, मानिसहरु काम सकेर घर फर्कन्छन् । त्यसपछि काठमाण्डुले आराम पाउन थाल्छ । दिउँसोको व्यस्ता र दूषित काठमाण्डुसँग परिचित मानिसहरुलाई लाग्दो हो, राति काठमाण्डु कस्तो देखिएला । धेरै मानिसको मनमा उब्जने त्यस्ता प्रयास मेटाउने प्रयास स्वरुप काठमाण्डु टुडेले मंगलबारको रातमा काठमाण्डुलाई नियाल्ने काम गरेको छ । हेर्नुस. एक रातमा काठमाण्डुमा के देखियो ?
दृश्य नम्बर– १
besarahaसैनिक मुख्यालयको गेटैमा रहेको भद्रकाली मन्दिर सुनसान थियो । मलिनो बत्तीको प्रकाश थियो । मन्दीरको सिंढीमा एक वृद्धा ढलेकी थिइन् । छेउमा कुकुर थियो । बोराले कुकुरको शरीर ढाकिएको थियो । तस्वीर खिच्दै गर्दा वृद्धाले भनिन्, ‘यो यहीं बस्छ, विचरालाई जाडो होला भनेर बोराले छोपिदिएको’ । ७० वर्षीया वृद्धाले आफ्नो घर भोजपुरको याकुबिर्ता भएको बताइन् । दुई छोरा र दुई छोरीकी आमा हरिमाया श्रेष्ठका तीन वर्ष यही मन्दिरको सिंढीमा बिते । हातखुट्टा चलुञ्जेल उनले १६ वर्ष काठमाण्डुको सडकपेटिमा मकै पोलेर जीवन गुजारा गरिन् । तर बुढ्यौलीले गाँजेसँगै काम गर्न नसक्ने भएपछि मन्दिरमा शरण लिन पुगिन् । ‘बूढा बितेको ३० वर्ष भो, देवरहरु तराईतिर झरिहाले, छोराछोरीले वास्ता गर्दैनन्’, ‘मन्दिरमा आउनेहरुले दया गरेर केही दिन्छन्, त्यही खाएर बसेकी ।’
दृश्य नम्बर–२
kathmandu night 2भद्रकालीबाट निस्केर सहिद गेट अगाडि पुग्दा एक युवक आफ्नो बिग्रिएको साइकल बनाउँदै गरेका भेटिए । रामेछाप घर बताउने उनको नाम सुमन मगर रहेछ । पुतली सडकको एउटा होटलमा काम गरेर न्यूरोडको डेरा फर्कंदै गर्दा उनको साइकल पञ्चर भयो । अँध्यारो सडकमा उनी मोबाइललाई मुखले च्यापेर त्यसैको धिपधिपे उज्यालोको सहयोगमा साइकल बनाउन खोज्दै थिए । ‘आफैंले जागिर खाएको पैसाले किनेको’, मगरले भने, ‘चढ्न त मजै हो, तर बिग्रेरै हैरान पार्छ भन्या ।’ बनाउन नसके घिसारेर साइकल डेरासम्म पु¥याउने उनले बताए ।
दृश्य नम्बर–३
agoपुस महिना सुरु हुन केही दिनमात्र बाँकी छँदा चिसो बढेको छ । काठमाण्डुमा दिउँसोको तुलनामा बिहान बेलुका खप्नै नसक्ने जाडो हुन्छ । त्यसैले न्यानोका लागि मानिसहरु आगो ताप्छन् । पाको न्यूरोडको पूरानो भन्सार अगाडि रातिको समयमा केही मधेसी मुलका युवा जाडो छल्न आगो ताप्दै थिए ।
दृश्य नम्बर–४
kathmandu night 45काठमाण्डु टुडेको टोली वसन्तपुर दरबार परिसर पुग्दा रमाइलो वातावरण देखियो । संधै मानिसहरुको भीडभाड लाग्ने वसन्तपुर तुलनात्मक रुपमा शान्त थियो । कोही हतारहतार घरतिर लम्कँदै गरेको देखिन्थ्यो । कोही गाडामा मःम बेच्दै थिए । कोही भने दिनभरिको थकान मेट्न त्यहाँ जाँदा रहेछन् । युवाहरु समूह–समूहमा थिए । कोही मस्तले चुरोट तान्न र कोही समूहमा तस्वीर खिचाउन व्यस्त । एकान्तमा बसेर माया साट्दै गरेका केही जोडीहरु पनि भेटिए । उनीहरु सकेसम्म अरु मानिसको आँखा आफूहरुमाथि नपरोस् भन्नेमा सजग देखिन्थे ।
दृश्य नम्बर–५
kathmandu night 5वीर अस्पतालको मुल गेटमा एक वृद्ध मुढो जसरी लडिरहेका थिए । अन्दाजी ६० वर्षका उनको शरीर मैलो कपडाले ढाकिएको थियो । खुट्टामा जुत्ता चप्पल केही थिएन । खाली भुईंमा लडेका यिनलाई बिरामी कुरुवा र बटुवाहरु एकछिन हेर्थे र आफ्नो बाटो लाग्थे । वृद्धको मुखबाट ऐया, ऐयाको मसिनो आवाज आइरहेको थियो । सायद उनी बिरामी परेर उपचारका लागि आएका थिए ।  वीर अस्पतालमा यस्ता धेरै बेवारिसे बिरामी आउने गर्छन् । सरकारले निःशुल्क स्वास्थ्यको कुरा गरेको धेरै भयो । तर व्यवहारमा कार्यान्यवन भएको खै ? अन्तरिम संविधानमा गाँस, बास, कपास, स्वास्थ्य शिक्षा र रोजगारीलाई जनताको मौलिक हकका रुपमा उल्लेख गरिएको छ । तर यी कुनै पनि अधिकारको उपयोगबाट नेपाली बञ्चित छन् ।
दृश्य नम्बर–
kathmandu night 6वीर अस्पतालको पारिपट्टि खुलामञ्च साइडमा एक हुल मानिस देखिए । उनीहरु रात्रिबसको प्रतीक्षामा थिए । सरकारले काठमाण्डु उपत्यकाका मुख्यमुख्य सडकमा रात्रिबस चल्ने व्यवस्था मिलाएको छ । तर त्यसको उचित व्यवस्थापन नहुँदा सर्वसाधारण मारमा पर्ने गरेका छन् । रामेछापका प्रेम बस्नेत जावलाखेलमा रेष्टुरेण्ट चलाउँछन् । जावलाखेलबाट चावहिल जाने गाडी पाउने आसमा त्यहाँ आइपुगेका उनी निराश देखिए । ‘यो नाइट गाडीको कुनै भरै हुँदैन, कहिले राति ११ बजे पनि पाइन्छ, कहिले ८ बजे गाडी भेटिन्न’ मनलाग्दी छ, उनले भने । धेरैपटक गाडी नभेटेर हिंडेरै चाबहिल पुगेको अनुभव छ, बस्नेतसँग । कहिले काहीं ट्याक्सीमा जाने गरेको भए पनि सधैं प्रसाले नधान्ने उनले बताए । रातिमा गाडी भाडा पनि मनपरि लिने गरिएको गुनासो उनले गरे ।
दृश्य नम्बर–७
kathmandu night 7वीर अस्पतालदेखि रत्नपार्कको नेपाल विद्युत प्राधिकरण अगाडिसम्मद दर्जन बढी यौन कर्मी महिला भेटिए । उनीहरु ग्राहकको खोजीमा कहिले यता र कहिले उता गरिरहेका थिए । तीमध्ये केही विवाहित पनि थिए । धेरैजसो २० देखि ३० वर्षका महिला यौन व्यवसायमा रहेछन् । यकाध ४० नाघेका पनि । बाटो हिंड्ने मान्छेलाई रोकेर उनीहरु सोध्दा रहेछन्, ‘ओ दाई जाने हो ?’ तीमध्ये कोहीले ‘कति हो ?’ भनेर सोध्दा रहेछन् । त्यहाँ १५ सयदेखि ३ सयसम्मका यौनकर्मी भेटिए । ग्राहकले बढी नै मोलमोलाई गरेपछि केही सय डिस्काउण्ट हुँदो रहेछ । ‘हुँदैन के दाई, होटलवालाले ५ सय लिन्छ, अनि मलाई खै त ?’ एक यौनकर्मीले भनेको सुनियो । उनीहरुका कुराबाट प्रष्ट भयो कि त्यहाँबाट यौनकर्मी महिलाले ग्राहकलाई होटलमा लैजाँदा रहेछन् । सडकमा हिंडेका केही मानिसले भने ‘जाने हो ?’ भन्ने यौनकर्मीको सातो खाएको पनि भेटियो ।
प्रहरीले बेलाबेलामा गर्ने ‘डिस्टर्ब’ यौनकर्मी महिलाको व्यवसायका लागि तगारो हुने रहेछ । प्रहरी एकातिरबाट आउँछ, उनीहरु अर्कातिर भाग्छन् । प्रहरी साइड लागेको मौका पारेर फेरि जम्मा भइहाल्दा रहेछन् । प्रहरीलाई चर्को लागी गर्दा रहेछन् यौनकर्मी महिला । ‘हामीले जाऔं भन्यो भने अहिले आफैं तयार हुन्छन्’, काम गरेर खान पनि नदिने चोरहरु’, भाग्दै गरेकी करिब २०÷२२ वर्षकी युवती भन्दै थिइन् ।
दृश्य नम्बर–८
kathmandu night 8जमलमा ट्राफिक प्रहरी मापसे जाँच गरिरहेका थिए । जनकपुरका श्याम गुप्ता र प्रमोद गुप्ता पहिलोपटक काठमाण्डु घुम्न आएका रहेछन् । भोटाहिंटीमा कपडा व्यवसाय गर्ने दाजुहरु भेट्न आएका उनीहरु मापसेमा परिहाले । ‘पहिलोपटक काठमाण्डु आएको, यति राति पनि चेकिङ होला भन्ने थाहै थिएन’, प्रमोदले भने, ‘काठमाण्डु आएको बेला साथीहरुसँग ठमेलमा गएर रमाइलो गरेको यस्तोमा परियो ।’ उनीहरुले आफूहरुलाई थाहा नहुँदा यस्तो भएको भन्दै हातै जोडेर ट्राफिक प्रहरीलाई आग्रह गरे । तर उनीहरुको आग्रह प्रहरीले सुनेन । ‘हुदैन भनेपछि हुँदैन । स्कुटर हामीसँगै हुन्छ । तपाईंहरु कता जानुपर्ने हो जानुस्, भोलि बग्गी खाना आएर कुरा गर्नुुस्’, प्रहरीको भनाइ यस्तो थियो । मापसे जाँचमा खटिएका प्रहरीका अनुसार पछिल्लो समय मापसे गरेर सवारी साधन चलाउनेको संख्या निकै कम भएको छ । तर केही ‘ठूलाबढा’ ले भने पहुँच प्रयोग गरेर मापसे जाँचमा खटेका प्रहरीलाई हैरान पार्दा रहेछन् । ‘आफू रक्सी खाएर गाडी चलाउँछन्, अनि आफैं ठूला कुरा गर्छन्, नेतादेखि हाक्किमसम्मलाई हाम्रै अगाडिबाट फोन गरेर हैसियत देखाउन खोज्नेहरु पनि छन्’, एक ट्राफिक प्रहरीले भने । उनका अनुसार नियम मिचेर सवारी चलाउने कतिपयले आफूलाई नछाडे सरुवा गरिदिने धम्कीसमेत दिने गरेका छन् ।
दृश्य नम्बर–९ 
kathmandu night 9लैनचौरस्थित समाजकल्याण परिषद् अगाडि भर्खरै पिच गरिएको सडक भटाभट भत्काइरहेको भेटियो ।
ठूलठूला स्काभेटर लगाएर बाटो भत्काइएको थियो । मजदुरहरु सडकमा खाल्डो खनिरहेका थिए । त्यहाँ भेटिएका इन्जिनियर राजलाल ठाकुरले मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउन सडक भत्काइएको बताए । ‘दिउँसोमा भत्काउँदा यात्रुलाई सास्ती हुन्छ भनेर रातिमा काम गर्दैछौं’, उनले भने, ‘तपाईं भोलि बिहान आएर हेर्नुभयो भने यो सबै पुरिएको हुन्छ ।’
अनि भत्काएको पिच पनि बनाइदिनुहुन्छ ? यो प्रश्नमा केहीबेर अल्मलिएका उनले भने, ‘त्यो काम त सडकको हो, हामीले त पाइप बिछ्याने मात्र हो । ठाकुरले आफूहरु मेलम्ची आयोजनाबाट काम गर्ने जिम्मा पाएको सिडीएम एसमीट एण्ड टेक आइकन कन्सल्ट्यान्टबाट खटिएको बताए । लैनचौरमा देखिएको यो दृश्यले हाम्रो राज्य संयन्त्रको काम गर्ने शैली र उनीहरुका बीचको समन्यव अभाव प्रष्ट झल्काउँछ । सरकारले हालै मात्र काठमाण्डु उपत्यकाका तीन जिल्लामा पिच गरेको भित्री र बाहिरी गरी ६ सय किलोमिटर सडक मेलम्चीले भत्काउन सुरु गरेको छ ।
दृश्य नम्बर–१०
kathmandu night 10राति होटल र रेष्टुरेण्टहरु बन्द भएपछि कहाँ के खाने भन्ने चिन्ता मानिसहरुमा हुने रहेछ । खास गरी ट्याक्सी चालकहरु यस्तो समस्यामा पर्ने गरेको पाइयो । उनीहरुको जमघट हुने थलो रहेछ कालोपुल र सोह्र खुट्टे । सोह्र खुट्टेबाट शोभाभगति जाने बाटोको दुवैतिर गाडामा मःम बेच्नेहरु धेरै हुँदा रहेछन् । ‘काठमाण्डुका टपटप रेष्टुरेण्टको भन्दा यहाँको मःम कति मीठो कति’, श्रीमतिसँगै मःम खान आएका धादिङ मार्पाकका शैलेश तामाङ भन्दै थिए । नुवाकोट रानीपौवाका सानु तामाङले गाडामा मःम बेच्न थालेको ५ वर्ष भयो । कमाई कति छ ? तामाङलाई सोधिएको प्रश्न भुइँमा झर्न नपाउँदै उनकै छेउमा अर्को गाडामा सेकुवा फ्राई गर्दै गरेका काभ्रे धुलिखेलका सविन श्रेष्ठले भने, ‘दिनमा सरदर ३५ सय नाफा हुन्छ, महिनाको कमाई एक लाख ५ हजार ।’ गाडामा मःमका साथै सेकुवा, ससेज, सुकुटी, आलुचप, आलुफ्राई जस्ता परिकार पाइने रहेछ । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सामान तयार पार्नमै समय लाग्ने गरेको तामाङले बताए । ‘मान्छेहरु १०–२० हजार कमाउन साउदी अरब र मलेसिया किन जान्छन् होला ?’, सविनले भने, ‘हामी यति सानो व्यापार गरेर हामी यहीं महिनामा एक लाख कमाउँछौं, परिवार पनि छाड्नु परेन, कसैको हप्काई–दप्काई पनि हुँदैन ।’
उनले केही वर्ष व्यापार गरेर धुलिखेलको डाँडामा चिटिक्क परेको घर बनाएर श्रीमान श्रीमति खुसीले बस्ने योजना सुनाए । ‘सात वर्ष भयो यो लाइनमा लागेको, अब केही वर्ष काम गरिन्छ, त्यसपछि धुलिखेलको डाँडामा चिटिक्क परेको घर बनाउने योजना छ’, सवीन घन्छन्, ‘त्यसपछि बुढाबुढी घरको छतमा बसेर चियाको चुस्की सुरुप–सुरुप ।’ कुराकानी गर्दा उनी निकै रसिक पारामा प्रस्तुत भए । थाहा छ मैले कसरी बिहे गरेको ? बिनाप्रसंगमै उनले भने, ‘तीन वर्ष फेसबुकमा च्याट भयो, बिहे गरेको एक वर्ष भयो ।’ आफ्नो पसलमा अनेकथरिका मानिसहरु आउने गरेको उनले सुनाए । ‘नेपाली मात्र हो र, अमेरिकन, जापानीज, चाइनिज सबै आउँछन्, चोकमा बस्नुपर्दो रहेछ अनेक देख्न पाइने रहेछ’, सानु तामाङलाई होइन त ‘साने दाई ?’ को प्रश्नसँगै उनले भने, ‘कति एक्लाएक्लै आउँछन्, यहाँबाट जोडी बनेर ठमेलतिर लाग्छन्, भो यस्ता कुरा गरेर साध्य छैन ।’
दृश्य नम्बर–११
kathmandu night 11kathmandu night 12काठमाण्डुको ठमेल चिनिएकै यौन बजार हो । मात्र रेडलाइट एरिया नतोकिएको मात्र हो । पर्यटकीय केन्द्र ठमेलमा विदेशीको तुलनामा नेपालीको चहलपहल बढी हुँदो रहेछ । हामी ठमेल पुग्दा रातको १२ बज्नै लागेको थियो । काठमाण्डु सहर मस्त निन्द्रामा परेकाबेला ठमेल भने जागै थियो । मानौं कि दिउँसै छ जस्तो । डान्स बारहरुमा अर्धनग्न युवतीहरु मस्तले नाचिरहेका । कोही मापसे गरेर सडकमा यता र उता हल्लिरहेका । ट्याक्सी चालकहरु भने बारहरुबाट निस्कने यात्रुको प्रतीक्षमा हुँदा रहेछन् । केशर महलदेखि सञ्चयकोष भवन अगाडिसम्म अनुहारमा अस्वभाविक शृंगार गरेका करिब दुई दर्जन तेश्रो लिंगी भेटिए । कोही फोनमा कुरा गरिरहेका, कोही ग्राहकसँग मोलमोलाइमा व्यस्त, कोही सडकको वल्लो र पल्लो किनारा घुमिरहेको देखिन्थ्यो । ‘तस्वीर खिचेको हो कि क्या हो ?’ एक तेश्रो लिंगीको प्रश्न हामीमाथि थियो । उनले आफूहरुका बारेमा बुझ्न मन भए अफिसमा आउन नभए तस्वीर नखिच्न चेतावनी दिए ।
टयाक्सी चालकहरु उनीहरुसँग डराउँदा रहेछन् । ‘यिनीहरुको फोटो नखिच्नुस्, अहिले ग्याङ नै आएर लफडा गर्छन्’, ट्डाक्सी चालक सर्लाही मलंगवाका विकने तामाङले हामीलाई भने, ‘यिनीहरु देख्न मात्र केटी हो बुझ्नुभो, सबै हामीजस्तै हुन् रे, बलिया हुन्छन्, प्रहरीलाई त कतिपटक लखेटेको मैले देखेको छु ।’
दृश्य नम्बर–१२
kathmandu night 13kathmandu night 14काठमाण्डुका सडकहरुम रात परेपछि भुस्या कुकुरहरुले गस्ति गर्दा रहेछन् । जताततै समूहमा कुकुर नै कुकुर देखियो । एक्लै दुक्लै सडकमा हिंड्नहरु भेटिए पनि कुकुरले झम्टिएर टोक्ने रहेछ । पछिल्लो समय पशु अधिकारकर्मीको विरोधका कारण काठमाण्डु महानगरपालिकाको कुकुर मार्ने अभियान रोकिएको छ । जसका कारण काठमाण्डुमा भुस्यहा कुकुरको संख्या अत्याधिक बढेको छ ।

तस्वीरहरु/राज श्रेष्ठ, काठमाण्डु टुडे

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us